रामेछाप, असार ६। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा योग, ध्यान, प्राणायाम सञ्चालन तथा स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
खिम्तीस्थित योग केन्द्रमा शनिबार आयोजित कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा योग र आयुर्वेदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने, स्थानीय समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने तथा योग पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा चिकित्सालयका आयुर्वेद चिकित्सक डा. अरुण टेर्राले योग, ध्यान र प्राणायामको महत्त्वबारे जानकारी गराउँदै नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले आयुर्वेदमा उल्लेखित दिनचर्या र ऋतुचर्याको पालना गर्दा विभिन्न रोगबाट बच्न सकिने तथा स्वस्थ जीवनशैली अपनाउन सहज हुने विषयमा सहभागीहरूलाई जानकारी दिनुभयो।

चिकित्सालयका निमित्त प्रमुख दीपककुमार कार्कीले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापबाट प्रदान गरिँदै आएका स्वास्थ्य सेवाबारे जानकारी गराउँदै नागरिकलाई सेवा लिन आग्रह गर्नुभयो। उहाँले ३० वर्ष उमेर पुगेपछि कुनै रोगको लक्षण नदेखिए पनि कम्तीमा वर्षमा दुई पटक नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। साथै, योग र ध्यानको नियमित अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले सहभागीहरूलाई योग म्याट वितरण गरिएको थियो।

यसैबीच, अन्तर्राष्ट्रिय योग दिवसकै अवसरमा मन्थलीस्थित पतञ्जलि योग साधना केन्द्रमा नियमित योग अभ्यास गर्ने सहभागीहरूको रक्तचाप तथा मधुमेह परीक्षणसमेत गरिएको चिकित्सालयले जनाएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले योग र आयुर्वेदप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई प्रेरित गर्ने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्