चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
सोमबार बिहान भएको दुर्घटनामा भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ गुडिरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा सोमबार बिहान २ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस दुर्घटनाले भरतपुर क्षेत्र शोकमा डुबेको छ भने सडक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ।













प्रतिक्रिया दिनुहोस्