जनता टाइम्स

८ असार २०८३, सोमबार ११:३७

लागेन महाधिवेशन प्रतिनिधिको टुंगो, मध्यान्हसम्म सुरु हुन सकेन रास्वपाको बन्दसत्र


चितवन, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहानदेखि सुरु हुने तय गरिएको बन्दसत्र प्रतिनिधिको नामावली टुंगो नलाग्दा निर्धारित समयमा सुरु हुन सकेन।

बन्दसत्र बिहान ८ः३० बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरूको अन्तिम नामावली सच्याउने काम नसकिएकाले कार्यक्रम प्रभावित भएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिको नामावलीमा देखिएका त्रुटि सच्याउने तथा अन्तिम टुंगो लगाउने काम जारी छ। प्रतिनिधिको अन्तिम सूची निश्चित भएपछि मात्र बन्दसत्र सुरु गरिने उहाँले जानकारी दिनुभयो।

पार्टी स्रोतका अनुसार प्रतिनिधिको नाम, थर र ठेगानासम्बन्धी विवरण नमिलेकाले परिचयपत्र (कार्ड) तयार गर्न ढिलाइ भएको छ। विशेषगरी मधेश प्रदेशसहित केही प्रदेशका प्रतिनिधिको वैधताका विषयमा विवाद देखिएपछि अन्तिम सूची तयार गर्न समय लागेको बताइएको छ।

नेताहरूका अनुसार प्रतिनिधि व्यवस्थापनको काम लम्बिएकाले बन्दसत्र अपराह्नतिर मात्रै सुरु हुन सक्ने सम्भावना रहेको छ।

निर्वाचन समितिले आइतबार करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। त्यसपछि प्राप्त उजुरी र त्रुटि सच्याउने काम जारी रहेकाले अन्तिम सूची अझै सार्वजनिक हुन सकेको छैन।

बन्दसत्रस्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्र परिसरमा बिहानैदेखि प्रतिनिधिहरूको भेला भएका छन् । प्रतिनिधिहरू अन्तिम नामावली सार्वजनिक हुने र बन्दसत्र सुरु हुने प्रतीक्षामा रहेका छन्।

रास्वपाको बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको छ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम तय गरिएको छ।