जनता टाइम्स

८ असार २०८३, सोमबार २१:२७

डीएसपी सुरज कार्की बागमतीमा जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित


काठमाडौं, असार ८ । इलाका प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्की बागमती प्रदेशको २०८३ साल जेठ महिनाका ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित हुनुभएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले  प्रदान गर्नुभएको प्रमाणपत्रअनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७१’ बमोजिम डीएसपी कार्कीलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रमाणपत्रमा उल्लेख भएअनुसार डीएसपी कार्कीले आफ्नो पेशागत जिम्मेवारी र पदीय दायित्व उच्च व्यवसायिकताका साथ निर्वाह गर्दै लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पुनः अफिम र भरुवा बन्दुकसहित पक्राउ गर्न सफल हुनुभएको थियो। साथै लागुऔषध मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्तिलाई समेत अवैध भरुवा बन्दुकसहित पक्राउ गरिएको उल्लेख छ।

उहाँको नेतृत्वमा अवैध भन्सार छली गरी ल्याइएका मालसामान तथा अवैध रूपमा ओसारपसार गरिएका चौपाया गोरु बरामद गरिएको, विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान गरिएको तथा विपद् उद्धारका कार्य प्रभावकारी रूपमा सम्पन्न गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी अवैध नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रण, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन, कार्यालयको स्तरोन्नति तथा निर्माणाधीन पृथ्वी राजमार्ग क्षेत्रमा सवारी व्यवस्थापन प्रभावकारी बनाउने कार्यमा पनि डीएसपी कार्कीले उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गरिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति–सुव्यवस्था, सुशासन कायम राख्न तथा अपराध न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै डीएसपी कार्कीलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो।

प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले प्रमाणपत्रमार्फत डीएसपी कार्कीलाई उक्त उपलब्धिका लागि हार्दिक बधाईसमेत व्यक्त गर्नुभएको छ।