जनता टाइम्स

१० असार २०८३, बुधबार ०७:४१

लिखु जलविद्युत् आयोजनाविरुद्ध आन्दोलन चर्कियो, वार्ताबाट समाधान खोज्न उमाकुण्ड गाउँपालिकाकाे आग्रह


रामेछाप, असार १० । रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सीमाक्षेत्रमा निर्माणाधीन लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासीको आन्दोलन थप चर्किएको छ। आन्दोलनका क्रममा आयोजना स्थलतर्फ जाने पानीको आपूर्ति रोकिएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिए पछि आन्दाेलन थप चर्किएकाे हाे ।

घटनाका क्रममा केही स्थानीयवासी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। घटनापछि उमाकुण्ड गाउँपालिकाले विज्ञप्ति जारी गर्दै बल प्रयोग र दमनको सट्टा वार्ता तथा संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारद्वारा जारी विज्ञप्तिमा एम.भी. दुगर ग्रुपद्वारा सञ्चालित लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाबाट प्रभावित नागरिकहरूको अगुवाइमा सुरु भएको आन्दोलन निरन्तर जारी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार नागरिक संघर्ष समिति र आयोजना पक्षबीच विभिन्न चरणमा वार्ता भए पनि आन्दोलनकारीले उठाएका मागमा सहमति जुट्न नसक्दा विवाद थप जटिल बनेको छ। गाउँपालिकाले आन्दोलनलाई थप उग्र हुन नदिन आयोजना सञ्चालक, स्थानीय प्रशासन र अन्य सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएको छ।

गाउँपालिकाले आयोजना प्रभावित नागरिकका जायज मागप्रति संवेदनशील हुन, आन्दोलनरत नागरिकमाथि धरपकड तथा दमन नगर्न र नियन्त्रणमा लिइएका नागरिकलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

विज्ञप्तिमा आन्दोलनका क्रममा उत्पन्न तनावलाई बल प्रयोगबाट नभई वार्ता, संवाद र आपसी सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिइएको छ। साथै, घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

स्थानीयवासीले जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक दायित्व पूरा नगरेको, स्थानीयसँग भएका सहमताहरू कार्यान्वयन नगरेको, आयोजना प्रभावित बस्तीका माग बेवास्ता गरेको तथा स्थानीयको अधिकारमाथि निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। सोही विरोधस्वरूप उनीहरूले आयोजनाका लागि प्रयोग हुने पानीको आपूर्ति रोकेका हुन्।

स्थानीयका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ। घटनापछि आयोजना क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। यद्यपि, आन्दोलनकारीले उठाएका मागमा आयोजना सञ्चालक एम.भी. दुगर ग्रुपले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेकाे छैन ।