जनता टाइम्स

१० असार २०८३, बुधबार १३:४२

लिखु किनारको वेदना : आफ्नै खोला सुकाउँदा के गरेकाे भन्न पाइएन, जलविद्युत आयाेजनाले पीडा बाहेक केही दिएन


नवराज पथिक 

रामेछाप, असार १० । कुनै समय रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गाका बासिन्दाको जीवनसँग गाँसिएको लिखु खोला आज धेरै स्थानमा केवल सम्झनामा सीमित भएको छ। जहाँ कहिल्यै नरोकिने पानीको बहाव थियो, त्यहाँ अहिले ढुंगा, बालुवा र सुख्खा बगर मात्रै देखिन्छ।  जलविद्युत् आयोजनाले समृद्धिको सपना देखाए पनि अहिले स्थानीय आफ्नै प्राकृतिक स्रोतबाट वञ्चित हुनुपरेको पीडा बोकेर आन्दोलनमा उत्रिन बाध्य भएका छन्।

रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गाको सीमाक्षेत्र हुँदै बग्ने लिखु खोलामा हाल ६ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन्। तीमध्ये चार वटा आयोजना रामेछापको उमाकुण्ड गाउँपालिका क्षेत्रमा र दुई वटा आयोजना लिखु तामाकोशी गाउँपालिकामा रहेका छन्। लिखु–ए, लिखु–१, लिखु–२, लिखु–३, लिखु खोला ‘ए’ र तल्लो लिखु (लिखु–४) जलविद्युत् आयोजनाले उत्पादन गरिरहेको विद्युत्ले राष्ट्रिय प्रसारण प्रणालीलाई ऊर्जा दिइरहेको छ। तर यही खोलाको किनारमा पुस्तौँदेखि बसोबास गर्दै आएका स्थानीयवासी भने आफ्नै नदीबाट विमुख भएको अनुभूति गरिरहेका छन्।

स्थानीयका अनुसार उमाकुण्ड गाउँपालिका–१ को लाहछेवरदेखि लिखु तामाकोशी गाउँपालिका–४ को बिजुलीकाटेसम्म खोलाको प्राकृतिक बहाव लगभग हराइसकेको छ। एउटा आयोजनाले सुरुङबाट पानी छाड्नेबित्तिकै अर्को आयोजनाले पुनः बाँध बाँधेर त्यही पानी आफ्नो सुरुङमा लैजाने क्रमले खोलाको मूल धार नै सुक्न पुगेको उनीहरूको भनाइ छ। वर्षायाममा बाढी आएको समयबाहेक अधिकांश समय खोलामा पानी नदेखिने अवस्था रहेको स्थानीयहरू बताउँछन्।

खोला सुक्दै जाँदा त्यससँग जोडिएको सम्पूर्ण जनजीवन प्रभावित भएको स्थानीयको अनुभव छ। एक समय लिखु खोलाका स्वादिला माछाका लागि परिचित यो क्षेत्र अहिले माछाविहीन बन्दै गएको छ। स्थानीयका अनुसार जलचरहरू लोप भएका छन्। जङ्गली जनावरदेखि घरपालुवा पशुसम्मले खानेपानीको समस्या भोगिरहेका छन्। किसानले समयमा सिँचाइ गर्न पाएका छैनन्, कतिपय प्राकृतिक मुहान सुकेका छन् भने सुरुङ निर्माण गरिएका क्षेत्रमा घरभित्रै पानी चुहिने समस्या देखिएको छ।

स्थानीयवासीको अर्को गुनासो आफ्नै प्राकृतिक स्रोतमा पहुँच गुम्नु हो। स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेका नदीजन्य पदार्थको उपयोग गर्न नसकेको, सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि ढुंगा, गिटी र बालुवा निकाल्न रोक लगाइएको तथा वर्षौँदेखि प्रयोग गर्दै आएका सार्वजनिक बाटासमेत आयोजनाका संरचनाले अवरुद्ध पारेको गुनासाे गरेका छन्। उनीहरूका अनुसार विकासका नाममा स्थानीयको स्रोत, साधन र अधिकार क्रमशः खोसिँदै गएको अनुभूति भएको छ।

आयोजनाले निर्माणका क्रममा नदीमा कम्तीमा १० प्रतिशत वातावरणीय बहाव कायम राख्ने, प्रभावित समुदायलाई सेवा–सुविधा उपलब्ध गराउने, सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने र स्थानीयसँग भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। तर ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको भन्दै उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका स्थानीयवासी विगत १५ दिनभन्दा बढी समयदेखि आन्दोलनमा छन्।

लिखु-३ जलविद्युत आयाेजनाले पनि स्थानीयलाई त्यतिकै दु:ख दिएकाे छ । लिखु तामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेलले सम्झौताअनुसार काम गर्न आग्रह गर्दा आयोजनाका कर्मचारीबाट जनप्रतिनिधिमाथि नै दबाब, धम्की र हातपातको प्रयास हुने गरेको बताउनुभयाे। उहाँका अनुसार आयोजनाले सार्वजनिक बाटो अवरुद्ध गर्ने, स्थानीयलाई नदीजन्य सामग्री उपयोग गर्न नदिने तथा नदीमा छाड्नुपर्ने न्यूनतम पानीसमेत नछाड्ने गरेको गुनासो स्थानीयले निरन्तर गर्दै आएका छन्। साे विषयमा कुरा गर्दा आफूलाई पनि विभिन्न बहानामा हतापतसम्मकाे प्रयास भएकाे उहाँले बताउनुभयाे ।

सोही वडाकी वडा सदस्य सुमित्रा राई सुनुवारले दुई–दुई वटा आयोजना गाउँमा सञ्चालन भए पनि स्थानीयले कुनै प्रत्यक्ष लाभ नपाएको बताउनुभयो। बरु जलचर नष्ट भएको, वातावरणीय असर बढेको र आयोजनाले सम्झौतामा उल्लेख गरेका दायित्व पूरा नगरेको उहाँको गुनासो छ।

वडा सदस्य केशरबहादुर कार्कीले खोलामा पानी सुक्दै जाँदा अत्यधिक गर्मी बढेको र वातावरणीय सन्तुलनमा गम्भीर असर परेको बताउनुभयो। उहाँका अनुसार स्थानीय र जनप्रतिनिधिले पटक–पटक समस्या उठाउँदा पनि आयोजनाहरूले सुनुवाइ नगरेको अनुभव स्थानीयको छ।

विकासका आयोजना नागरिकको जीवनस्तर उकास्न आउनुपर्ने हो। तर लिखु खोलाका जलविद्युत् आयोजनाले विकासको प्रतिफलभन्दा बढी वातावरणीय क्षति, सामाजिक असन्तुष्टि र स्थानीय अधिकारमाथिको हस्तक्षेपको अनुभूति गराएको छ। त्यसैले उनीहरू अहिले एउटै माग गरिरहेका छन्-सम्झौताअनुसार खोलामा पानी बग्न दिइयोस्, स्थानीयसँग गरिएका प्रतिबद्धता पूरा गरियोस् र प्राकृतिक स्रोतमा स्थानीयको अधिकार सुनिश्चित गरियोस्।