काठमाडौं, असार १० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनका बेला मितव्ययिता, सुशासन र राज्य संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्ने राजनीतिक शक्ति सत्तामा पुगेपछि आफ्नै वाचाविपरीत अघि बढेको बताउनुभएकाे छ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले निर्वाचनका बेला ‘मितव्ययिता र सुशासन’को चर्को नारा लगाएर जनताको मत प्राप्त गरेका नयाँ भनिएका राजनीतिक शक्तिहरूले सरकारमा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको ठूलो समूह खडा गरेको भन्दै आश्चर्य व्यक्त गर्नुभएको हो।
उहाँले राज्यकोषको दोहन रोक्ने र राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने प्रतिबद्धता जनाएका पक्षहरू नै अहिले मन्त्रालय–मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्न आफ्ना कार्यकर्ताको भर्ती गर्न व्यस्त रहेको टिप्पणी गर्नु भएकाे छ।
महासचिव पोखरेलले परिवर्तन र सुशासनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गरेका मतदाताले अहिले पार्टीको कार्यशैलीलाई कसरी मूल्याङ्कन गरिरहेका होलान् भन्ने प्रश्नसमेत उठाउनुभएको छ। ‘परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आम मतदाताले उहाँहरूको यो व्यवहारबाट आज कस्तो महसुस गरिरहेका होलान् ? आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन सक्छ ?’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
महासचिव पोखरेलले सरकारले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिबद्धता स्मरण गराउँदै आफ्नै वाचाप्रति इमानदार बन्न आग्रह गर्नुभएको छ। ‘चुनावका समयको आफ्नो वाचातर्फ फर्क, सरकार। स्वेच्छाचारी व्यवहारबाट जनतालाई निराश नबनाऊ,’ उहाँले भन्नुभएको छ।
महासचिव पोखरेलको यो टिप्पणी पछिल्लो समय मन्त्रालयहरूमा राजनीतिक नियुक्ति, सल्लाहकार तथा व्यक्तिगत सहायकको संख्या र सरकारी खर्चको विषयलाई लिएर आएकाे हाे ।













प्रतिक्रिया दिनुहोस्