काठमाडौं, असार १० । संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन ९आईएमओ० ले हर्मुज जलमार्गमा फसेका झण्डै ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूको उद्धार कार्य शुरु गरेको छ ।
अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र शिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको आइएमओले जनाएको छ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिने आइएमओको भनाई छ । अमेरिका र इरानबीच स्वीटजरल्याण्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि स्ट्रेट अफ होर्मुजको बाटो खुला भएको हो ।
यसैबीच अमेरिका र इरानबीच चलिरहेको शान्ति वार्तामा आणविक कार्यक्रमको निरीक्षण तथा हर्मुज जलमार्गको व्यवस्थापनबारे मतभेद देखिएको छ । दुवै पक्षले सार्वजनिक रूपमा फरक–फरक धारणा व्यक्त गरिरहेका बेला वार्ताकारहरूले ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अन्तिम सम्झौता भएमा इरानले होर्मुज क्षेत्रमा कुनै प्रकारको शुल्क वा अवरोध सिर्जना गर्न नसक्ने बताउनु भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले आईएईएका महानिर्देशक राफायल ग्रोसीसँग कुनै भेटवार्ता नभएको र आणविक निरीक्षणको समय तालिका तय नगरिएको बताउनु भएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गरेको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।
तर तेहरानले त्यसलाई अस्वीकार गर्दै निरीक्षणबारे कुनै स्पष्ट सहमति नभएको जनाएको छ । ट्रम्पले निरीक्षणमा अवरोध आए थप शान्ति वार्ता रद्द गर्न सकिने चेतावनी समेत दिनुभएको छ । इरानका वरिष्ठ सैन्य अधिकारी जनरल अहमद रेजा पोरदस्तानले आवश्यक परे शत्रुविरुद्ध पूर्वआक्रमण गर्न सकिने चेतावनी दिनुभएको छ । उहाँले लेबनानको सुरक्षाका लागि पनि इरान पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ ।
क्षेत्रीय तनाव घटाउने प्रयास जारी रहे पनि आणविक निरीक्षण, क्षेप्यास्त्र कार्यक्रम र सुरक्षा का विषयमा अमेरिका र इरानबीच अझै गम्भीर मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्