जनता टाइम्स

१० असार २०८३, बुधबार १९:२३

नेपाल–चीनबीच विज्ञान, प्रविधि र नवप्रवर्तन सहकार्य विस्तार गर्ने विषयमा छलफल


काठमाडौं, असार १० । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल–चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।

भेटमा सन् २०२३ मा दुई देशबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भएको सम्झौताअनुसार त्यसलाई कार्यान्वयनको चरणमा लैजान संयुक्त समिति गठन गर्ने विषयमा विशेष छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब २.८ प्रतिशत हिस्सा अनुसन्धान तथा विकास (Research and Development) मा लगानी गर्दै आएको जानकारी पनि राजदूत माओमिङले गराउनुभएको थियो।

दुई पक्षबीच नेपालमा विज्ञान तथा प्रविधिको विकासलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित विभिन्न सम्भावित सहकार्यका क्षेत्रबारे विचार आदानप्रदान भएको थियो। छलफलमा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि (बायोटेक्नोलोजी) क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीको वैज्ञानिक अनुसन्धान, इकोलोजिकल अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी, जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल रूपान्तरणमा सहकार्य, साथै अनुसन्धानकर्ता र वैज्ञानिकहरूको आदानप्रदान तथा तालिमका विषय समेटिएका  पुनले जानकारी दिनुभयाे ।

भेटका क्रममा राजदूत माओमिङले चीन सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासलाई प्राथमिकतामा राखेर तयार गरेको १५औँ पञ्चवर्षीय योजना अन्तर्गतका नीति, रणनीति तथा कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। उहाँले उक्त योजनासम्बन्धी विस्तृत दस्तावेजको एक प्रति पनि मन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो।

मन्त्री पुनले चीनको अनुभव र दीर्घकालीन योजनाबाट नेपालले पनि आवश्यक सिकाइ लिन सक्ने विश्वास व्यक्त गर्दै प्राप्त दस्तावेज अध्ययन गरी नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकासमा उपयोग गर्ने बताउनुभयाे ।

भेटवार्तालाई नेपाल–चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा विद्यमान सहकार्यलाई थप संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।