रामेछाप, असार १० । ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार’ भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको १९औँ नगरसभा बुधबार सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र ८० करोड ८६ लाख ५० हजार ४ सय ४६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।
नगर प्रमुख लवश्री न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र नगर उपप्रमुख बालकुमारी कार्की थापाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट ५८ करोड २२ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसमध्ये वित्तीय समानीकरण अनुदानतर्फ १४ करोड ७७ लाख, सशर्त चालुतर्फ २१ करोड ८२ लाख, सशर्त पूँजीगततर्फ ३५ लाख, विशेष पूँजीगततर्फ २ करोड र समपूरक पूँजीगततर्फ ८५ लाख रुपैयाँ रहने उल्लेख गरिएको छ। साथै, मूल्य अभिवृद्धि कर तथा अन्तरशुल्क बाँडफाँडबाट १० करोड ४३ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी, वाग्मती प्रदेश सरकारबाट समानीकरण अनुदानबापत १ करोड ३७ लाख ३० हजार, सशर्त चालुतर्फ १ करोड १७ लाख ७० हजार, सशर्त पूँजीगततर्फ ४५ लाख, विशेष पूँजीगततर्फ ७० लाख तथा समपूरक पूँजीगततर्फ १ करोड ८० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ। प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँडबापत ५ करोड २८ लाख ७२ हजार १०५ रुपैयाँ सहित कुल १० करोड ७८ लाख ७२ हजार १०५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाको आन्तरिक स्रोततर्फ १ करोड २३ लाख ६३ हजार ४ सय ३५ रुपैयाँ आम्दानी हुने तथा १० करोड ६१ लाख ७५ हजार ९ सय ६ रुपैयाँ नगद मौज्दात रहने गरी कुल ११ करोड ८५ लाख ३९ हजार ३ सय ४१ रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ।
बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत संघीय सशर्त चालु बजेट २९ करोड ८२ लाख, प्रदेश सशर्त चालु बजेट १ करोड १७ लाख ७० हजार, नगरपालिकातर्फ १७ करोड ६० लाख, वडातर्फ ३६ लाख तथा विषयगत शाखा र कोषतर्फ २ करोड ८ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। उक्त रकम कार्यालय सञ्चालन, शिक्षक तथा कर्मचारीको तलब–भत्ता, जनप्रतिनिधिको सेवा–सुविधा तथा विभिन्न विषयगत कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ।

यस्तै, पूँजीगत खर्चतर्फ २९ करोड २८ लाख १० हजार ४ सय ४६ रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये संघीय तथा प्रदेश समपूरक अनुदानअन्तर्गत नगरतर्फ १ करोड ७७ लाख रुपैयाँ, भुक्तानी दिन बाँकी दायित्वका लागि १० करोड ६१ लाख ७५ हजार ९ सय ६ रुपैयाँ, नगरस्तरीय ठूला योजनाका लागि १ करोड ७२ लाख रुपैयाँ तथा वडास्तरीय आयोजनाका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ।
मुख्य भौतिक पूर्वाधारतर्फ गोडस्वाराँडाँडा–धारापानी–कुवाभँगेरी सडक निर्माणका लागि १ करोड रुपैयाँ, देउराली खेल मैदानदेखि फलाटेखोला सडक स्तरोन्नतिका लागि २० लाख रुपैयाँ, रामपुर–रामेछाप–बसन्तपुर सडक स्तरोन्नतिका लागि २० लाख रुपैयाँ, मकैबारी खानेपानी ट्याङ्की निर्माणका लागि १० लाख रुपैयाँ तथा साङ्गुटार बजार व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगर प्रमुख न्यौपानेले प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध रामेछाप निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख कार्की थापाले बजेटले नगरवासीको आवश्यकता, स्थानीय प्राथमिकता र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर स्रोत तथा साधनको अधिकतम उपयोग गर्ने गरी योजना तयार गरिएको बताउनुभयो।
नगरपालिकाले बजेट तथा नीति–कार्यक्रम निर्माण प्रक्रियामा सहयोग पुर्याउने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा रचनात्मक सुझाव प्रदान गर्ने नगरवासीप्रति धन्यवादसमेत व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्