भरतपुर, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि मतदान जारी रहेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टीका ९९ पदका लागि विद्युतीय प्रणालीमार्फत मतदान भएको हो। मतदान प्रारम्भ भएसँगै प्रतिनिधिहरू महाधिवेशन स्थलमा प्रवेश गरी आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
उहाँका अनुसार असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत जारी मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुनेछ। मतदान प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहज बनाउन आवश्यक सबै तयारी पूरा गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा विभिन्न पदका लागि ३ सय ८४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी नेतृत्व तथा केन्द्रीय संरचना चयनका लागि भइरहेको यो निर्वाचनलाई रास्वपाको संगठनात्मक विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ।
यसअघि रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएकाे छ। सभापति चयनपछि अहिले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि मतदान भइरहेको हो।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी संगठनात्मक दिशा, नीति तथा कार्ययोजनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्