काठमाडौं, असार ११ । भेनेजुएलामा बुधबार राति दुईवटा शक्तिशाली भूकम्प जाँदा हजाराैँकाे ज्यान गएकाे अनुमान गरिएकाे छ। स्थानीय समयअनुसार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी कराकासबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ।
यूएसजीएसले प्रारम्भिक मूल्याङ्कनका आधारमा भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएकाे अनुमान गरिएकाे छ । त्यस्तै एक लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने सम्भावना ३० प्रतिशत रहेको पनि अनुमान गरिएको छ।
यद्यपि, भेनेजुएला सरकारले अहिलेसम्म मृत्यु तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गर्न सकेकाे छैन। उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको वास्तविक अवस्था अझै स्पष्ट हुन बाँकी रहेको बताइएको छ।
भूकम्पका कारण राजधानी कराकाससहित विभिन्न सहरमा भवनहरू भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कराकास अन्तर्राष्ट्रिय विमानस्थलको छानाको एक भागसमेत भत्किएको छ। विद्युत्, सञ्चार तथा यातायात सेवामा समेत अवरोध उत्पन्न भएको जनाइएको छ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय आपत्काल घोषणा गर्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ।
यो भूकम्प भेनेजुएलामा पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको छ। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो घटनाले देशलाई पुनः ठूलो प्राकृतिक विपत्तिको सामना गर्न बाध्य बनाएको छ।
अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, सम्भावित परकम्पका लागि तयारी अवस्थामा बस्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउने क्रम जारी रहेको छ।













प्रतिक्रिया दिनुहोस्