काठमाडौं, असार १३ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले सामाजिक सञ्जाल फेसबुकबाटै योग्य सचिवको खोजी सुरु गर्नुभएको छ ।
आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारीसमेत दिएपछि मन्त्रालयलाई गति दिने योजनाका साथ पुनले सचिवको खोजी सुरु गर्नुभएको हो । सुरुवातीबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहनुभएका मन्त्री पुनले पहिलो चरणमा मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको भन्दै खोजी सुरु गर्नुभएको हो ।
पुनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ ।
‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ । मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्नसक्ने सचिव चाहिएको छ, मन्त्री पुनले भन्नुभएको छ । उहाँले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षासमेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्