काठमाडौं, असार १४ । वैदेशिक रोजगार विभागले उजुरी फछ्र्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण नगर्ने भएको छ । नविकरण नभएका म्यानपावर कम्पनीले आगामी साउन १ देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन ।
बैदेशिक रोजगार बिभागका महानिर्देशक मीरा आचार्यले लामो समयदेखि उजुरी फछ्र्यौट नगर्ने प्रबृत्ति बढेको र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारले पीडा बेहोर्नुपरेको अवस्थालाई अन्त्य गर्न यस्तो ब्यवस्था गरिएको जनताटाइम्स डटकमलाई बताउनु भयो । महानिर्देशक आचार्यका अनुसार विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फछ्र्यौट गर्न म्यानपावरको नवीकरण नगर्ने नीति लिएको हो । यस बिषयमा बैदेशिक रोजगार बिभागले म्यानपावर व्यवसायीलाई पूर्वजानकारी दिइसकेको छ ।
‘हामीले एक साता अघि नै उजुरी फछ्र्यौट नगरेमा नविकरण नहुने जानकारी बैदेशिक रोजगार ब्यवसायी संघमार्फत सवैलाई दिइसकेका छौं । कतिपय म्यानपावर कम्पनीले आफै चासो लिएर उजुरी फछ्र्यौट गर्न थालेका पनि छन,’ जनताटाइम्स डटकमको जिज्ञासामा महानिर्देशक आचार्यले भन्नुभयो, ‘विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन खोजेको हो । अहिले नवीकरण गर्ने बेला छ । त्यो नवीकरण गर्ने बेलामा उजुरी फरफारक भएन भने नवीकरण हुँदैन ।’
विभागमा २०५७ सालदेखिका उजुरी थाँती रहेको छन् । पुराना समयका ब्यक्तिगत उजुरी बढी रहेको भन्दै बिभागले संस्थागत उजुरी फछ्र्यौटलाई पहिलो प्राथमिकता दिएको आचार्यको भनाई छ । पहिलो चरणमा त्यस्तो उजुरी संस्थागत र व्यक्तिगत झन्डै ४४ हजार रहेका छन् । सबैभन्दा बढी व्यक्तिगत छ । म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ । तिनै श्रमिकले ठगीमा परेको भन्दै व्यक्तिविरुद्ध उजुरी गर्ने गरेका छन् ।
अहिले कुन कम्पनीविरुद्ध कतिवटा उजुरी परेको छ भन्ने विवरणलाई व्यवस्थापन गर्न बिभाग लागेको छ । ‘हामीले २०८० सालभन्दा अगाडि र त्यसपछिका उजुरी भनेर दुई भागमा विभाजन गरेका छौं । त्यसरी विभाजन गरिसकेर सार्वजनिक सूचनामार्फत सम्बोधन गर्ने गरी काम गरिरहेका छौं । उजुरीमा प्रमाण संकलन गर्ने काम भइरहेको छ । यसलाई कडाइका साथ कार्यान्वयन भइरहेको छ,’ महानिर्देशक आचार्यले भन्नुभयो ।
विभागमा तोकिएभन्दा बढी रकम लिएको, करारमा उल्लेख गरेभन्दा फरक काम लगाएको, तलब नपाएकोलगायतका विषयमा उजुरी पर्ने गरेको छ । विभागले प्रमाण पुगेको उजुरीको हकमा म्यानपावर कम्पनीले राखेको धरौटीबाट रकम काटेर पीडितलाई दिने गरेको छ । विभागमा म्यानपावर कम्पनीको दुई करोडदेखि ६ करोड रुपैयाँसम्म नगद र बैंक धरौटी रहेको छ ।
पछिल्लो समय बिभागले बैदेशिक रोजगारीको नाममा हुने गरेको ठगी र बढी रकम असुलीमा निकै कडाई पनि गरेको छ । बिभागको नेतृत्व सम्हालेदेखि आचार्य आफैले यस काममा पहलकदमी लिनुभएको थियो । विभागले पीडितलाई राहत तथा क्षतिपूर्ति दिने हकमा भएको कानुनलाई कडाइ गरेको हो । ‘श्रमिकको सुरक्षा गर्ने दफा कडा छ । एकजना व्यक्तिसँग मात्रै बढी पैसा लिएर पठाएको भेटिएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ जरिवाना लाग्छ । सय जनासँग बढी पैसा लिएर पठाइएको छ भने ५० लाख रुपैयाँ जरिवाना हुन्छ,’ आचार्यको भनाई छ ।
आचार्यका अनुसार म्यानपावर कम्पनीको नाममा रहेका सबै उजुरी असार मसान्तसम्म सकेर साउनदेखि उजुरी व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्ययोजना छ । साउनलेदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने गृहकार्यसमेत अघि बढेको छ । ‘साउनबाट मुद्दा अनुसन्धान र राहत तथा उद्धारका विषय नयाँ प्रणालीमार्फत नै व्यवस्थित हुन्छन, अहिले दर्ता भएका उजुरीको फर्छ्योटमा ध्यान दिएका छौं,’ महानिर्देशक आचार्यले भन्नुभयो ।
निकै बदनाम रहेको बैदेशिक रोजगार बिभागको छवि सुधारेर सेवाग्राहीमा धारणा परिवर्तन ल्याउने गरी बिभागले थप सुधारका योजना पनि कार्यान्वयन गरिरहेको छ । कार्यसमयमा कर्मचारी ब्यवस्थापनदेखि पीडितलाई न्यायमा बिशेष ध्यान दिएर बिभागले सुधारको काम अघि बढाएको हो । ‘सकेसम्म गुनासो गर्ने अवस्था नबनोस भनेर बिशेष सचेत छौं, सुधारका कामले परिणाम पनि दिन थालेको छ,’ महानिर्देशक आचार्यको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्