जनता टाइम्स

१४ असार २०८३, आईतवार १२:३५

एमालेले भन्यो : विष्णु पौडेललाई तुरुन्तै रिहा गरियोस


काठमाडौं, असार १४ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहा गर्न माग गरेको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद डा. पुष्पराज कँडेलले पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गर्नुभएको हो ।

‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्यो। गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो। त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो,’ कँडेलले भन्नुभयो ।

कँडेलले पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेल बेकसुर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताउनु भयो । सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो । सो घटना चरम प्रतिशोधपुर्ण भन्दै एमालेले कडा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।