जनता टाइम्स

१४ असार २०८३, आईतवार १९:३०

पूर्वराष्ट्रपति भण्डारीको अडान : देशको हितमा छैन प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली


काठमाडौं, असार १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नरहेको निश्कर्ष सुनाउनु भएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट नै प्रत्यक्ष कार्यकारीको प्रस्ताव गरेको बेला पूर्वराष्ट्रपति भण्डारीले सो काम नेपालको हितमा नहुने बताउनु भयो । संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रश्तावप्रति लक्षित गर्दै उहाँले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने भण्डारीको तर्क छ ।

‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रश्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,’ भण्डारीले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताएनु भयो ।

‘हामी आवधिक निर्वाचन मार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं, तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो,’ भण्डारीको भनाई थियो ।