जनता टाइम्स

१७ असार २०८३, बुधबार ०९:१२

रुकुम पूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित पाँच जना घाइते


काठमाडौं,  असार १७ । रुकुम पूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित पाँच जना घाइते भएका छन्।

सिस्ने गाउँपालिका–४ झाक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा सिस्ने गाउँपालिका–४ की २३ वर्षीया धनकुमारी घर्ती र ६ महिनाकी सर्लाश बुढा मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सर्लाशकी आमा २७ वर्षीया रोशनी बुढा मगर र २१ वर्षीया रमिता घर्ती मध्यम घाइते भएका छन् भने चालक सिस्ने गाउँपालिका–२ का २३ वर्षीय खिम्मान खड्का सामान्य घाइते भएका थिए। उपचारपछि उनीहरू तीनै जना डिस्चार्ज भइसकेका छन्।

जिल्ला प्रहरी प्रमुख डीएसपी खुमानन्द पाण्डेका अनुसार जिपमा चालकसहित ११ जना सवार थिए। अन्य ६ जना भने सकुशल रहेका छन्।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।