काठमाडौं, असार १७ । चितवनको इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले कुटपिट गरेको घटना बाहिरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङसहितका ६ जनाको समूहले आज हातपात गरेको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितको टोली कार्यकक्षमै पुगेर कुटेका हुन् । घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराएका प्रहरीले जानकारी दिएको छ ।
बिहीवार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर बस्नेतलाई सामूहिक रूपमा हातपात गरेको प्रहरीले पीडितको भनाई उधृत गर्दै बताएको छ । इच्छाकामना गाउँपालिकाले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दा अदालतबाट जितेको विषयलाई लिएर उनीहरुले आक्रमण गरेका हुन्।
बुधवार जिल्ला अदालत चितवनमा मुद्दाको सुनुवाइ थियो। अदालतको फैसला गाउँपालिकाको पक्षमा भयो । त्यसको रिसमा कुटपिट भएको गाउँपालिका कर्मचारीको भनाई छ । प्रहरीले भने अनुसन्धान प्रक्रियामा रहेको जनाएको छ । कुटपिटबाट बस्नेतको शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको छ।
गाउँपालिकाभित्रै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणले सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षा तथा कानुनी शासनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
गाउँपालिकाका कर्मचारीले संयुक्त विज्ञप्ति निकालेर किंगफिसर कन्स्ट्रक्सनका निर्माण व्यवसायी लालबहादुर तामाङ सहितका ६ जनाको टोलीले प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट गरेको जनाएका छन् । बिज्ञप्तिमा कर्मचारीले ज्यान मार्ने मनसायले कुटपिट गरी परिवारलाई समेत नछोड्ने धम्की दिएको भन्दै कडा कार्वाहीको माग गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्