मालपोतका नासु किरण उपाध्याय मृत्युपछि भ्रष्टाचारी ठहर, चार छोराबाट दुई करोड ९३ लाख बिगो असुल्ने अदालतको रहर
काठमाडौं, असार १९ । मालपोत कार्यालय पर्सामा रहँदा राजस्व हिनामिना गरेको अभियोगमा बाबु दोषी ठहर भएपछि चार छोराहरु तनावमा छन ।
पिताको मृत्यू भइसकेपछि भ्रष्टाचारी ठहर गरी सँजायको भागिदार बनाइएपछि उनीहरु तनावमा परेका हुन । यस्तो तनावमा पर्नेहरुमा मालपोत कार्यालय पर्साका तत्कालीन नासु स्व. किरणप्रसाद उपाध्यायका चार सन्तान हुन । किरणका चार छोरा पशुपतिप्रसाद उपाध्याय, मुरारीप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय र राजकिशोरप्रसाद उपाध्याय छन ।
अदालतले बाबु किरणको भ्रष्टाचारमा छोराहरुबाट असुली गर्ने निर्णय सुनाएको छ । बिशेष अदालतले मृतकका चार छोराबाट दुई करोड ९३ लाख बिगो असुल गराउन आदेश दिएको हो । राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा मालपोत कार्यालयका नायब सुब्बा किरणलाई मृत्युपछि दोषी ठहर गरिएको छ । मालपोत कार्यालय पर्साका तत्कालीन नासु किरणलाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो । अदालतले किरणको मृत्यु भएकाले चार छोराबाट दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो भराउन आदेश पनि दिएको छ ।
गत बर्षको चैत १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले फैसला सुनाउँदै तत्कालीन चार अधिकृतलाई सफाइ दिई मृत्यु भएका नासुलाई मात्र दोषी ठहर र चार छोराबाट बिगो असुली गर्ने निर्णय गरेको हो । अधिकृतहरू हरिनारायण शाह, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीलाई विशेषले सफाइ दिएको छ । राजस्व दाखिला गर्ने जिम्मेवारी मालपोत अधिकृतहरूको नदेखिई रजिस्ट्रेसन फाँटका सम्बद्ध कर्मचारीको नै भएको भन्दै उनीहरूले सफाइ पाउने फैसलामा उल्लेख छ ।
तत्कालीन नासु उपाध्यायले ३१९ लिखत पारित गर्दाको दुई करोड ९१ लाख राजस्व हिनामिना गरेको अदालतको ठहर छ । अख्तियारले मुद्दा चलाउनुअघि नै उनको मृत्यु भइसकेको थियो । जसकारण उनका छोराहरू पशुपतिप्रसाद उपाध्याय, मुरारीप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय र राजकिशोरप्रसाद उपाध्यायबाट बिगो भराउन माग गरी अख्तियारले उनीहरूलाई समेत प्रतिवादी बनाएको थियो । सोही मागअनुसार उनीहरूबाट दामासाहीका हिसाबले प्रतिव्यक्ति ७३ लाख ४२ हजार १४१ रुपैयाँ बिगो असुल गराउन अदालतले भनेको छ ।
अदालतको फैसलामा भनिएको छ, ‘निज किरणप्रसाद उपाध्यायको मृत्यु भइसकेको देखिँदा फौजदारी न्यायको सिद्धान्तसमेतको आधारमा निजलाई सजाय हुने अवस्था नभए पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ र फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र दफा १५८ समेतको कानुनी व्यवस्थाको आधारमा हानि–नोक्सानी भएको बिगो मृतकको हकमा सम्पत्ति खाने अंशियारबाट गर्नुपर्ने हुँदा हानि-नोक्सानी भएको उक्त बिगो रु २,९३,६८,५६५।– निज किरणप्रसाद उपाध्यायका हक खाने छोराहरू प्रतिवादी पशुपतिप्रसाद उपाध्याय, मुरारीप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय र राजकिशोरप्रसाद उपाध्यायबाट दामासाहीले हिसाब गर्दा हुन आउने रकम जनही रु ७३,४२,१४१।२५ रकम असुली गरी राजस्वमा दाखिला गरिदिने ठहर्छ ।’
मृत्यु हुँदैमा अपराधबाट उन्मुक्ति नहुने कानुनी व्यवस्था
यसअघि नै अख्तियारले उनीहरूको सम्पत्ति रोक्का राखेर मुद्दा चलाएको थियो । प्रतिवादीको मृत्यु हुँदैमा अपराध तथा भ्रष्टाचारबाट उन्मुक्ति नहुने र अंशियारबाट बिगो असुल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोहीअनुसार विशेष अदालतले मृतक नासुका छोराहरूबाट हिनामिना भएको राजस्व असुल गर्न भनेको हो ।
आर्थिक वर्ष ०७१/७२ मा मालपोत कार्यालयको फाँट ‘ग’को राजस्व हिनामिना भएको अदालतको ठहर छ । एउटै नम्बरका दोहोरो-तेहोरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा धेरै लिखत पास गरिएको थियो । कम राजस्व भएका लिखतहरू बैंकमा दाखिला गर्ने, तर बढी राजस्व भएका लिखतहरूको रेकर्डमै नराखी कर्मचारीबाट हिनामिना भएको थियो ।
अख्तियारले यसमा लिखत पास गर्ने अधिकृतको समेत मिलेमतो दाबी गरे पनि विशेषले नासुलाई मात्र दोषी ठहर गरेको हो । अदालतले आरोपीमध्ये जिवितलाई सफाइ दिएर मृतकलाई दोषी ठहर गरी छोराहरुबाट बिगो असुलने निर्णय लिएको नेपालको न्यायिक इतिहासमै संभवत यो पहिलो मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्