जनता टाइम्स

२० असार २०८३, शनिबार १८:४९

अपराधमा संलग्न जोगाउन महान्यायाधिबक्ता नै कस्सिए, जेनजी आन्दोलनका मुद्दाका पेशी स्थगित गर्न निर्देशन


काठमाडौं, असार २० । महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनताकाका घटनासँग सम्बन्धित फौजदारी अभियोगका मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिबक्ता डा. नारायण दत्त कँडेलको निर्णयअनुसार कार्यालयले देशभर यस्तो निर्देशन दिएको हो ।

देशभरका उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई शुक्रवार पत्र पठाएर त्यस्ता मुद्दाहरूको पेशी स्थगित गर्न भनेको छ । गृह मन्त्रालयको यही असार १८ गतेको निर्णय अनुसार २०८२ भदौ २३–२४ का घटनाहरूमा लागेका फौजदारी अभियोगका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न कार्यदल बनेर प्रक्रियामा रहेको कारण पेशी स्थगित गर्न पत्रमा निर्देशन दिइएको छ ।

सहायक न्यायाधिवक्ता विश्वास तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्र अनुसार, सोही कार्यदलको प्रतिवेदन पेस नभएसम्मका लागि उक्त दिनका घटनामा संलग्न भएकै कारण दायर गरिएका फौजदारी मुद्दाहरूको सुनुवाइ प्रक्रिया हाललाई रोक्न भनिएको छ । महान्यायाधिकब्ता कार्यालयको यो काम भदौ २३ र २४ गते सिंहदरवार, संसद भवन र सर्वाेच्च अदालतसहित ब्यक्तिको घर छानिछानी जलाउने अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिने योजनाअनुसार स्रोतले दावी गरेको छ ।