काठमाडौं, असार २६ । दुई वर्षअघि व्यवसायी प्रेमप्रसाद आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेपछि तत्कालीन विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए।
तर त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि रास्वपाका शीर्ष नेताहरूको सार्वजनिक प्रतिक्रिया अपेक्षाकृत कम देखिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ।
प्रेमप्रसाद आचार्यको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका प्रमुख **बालेन्द्र शाह (बालेन)**ले उक्त घटनालाई तत्कालीन राज्य व्यवस्था र शासनप्रणालीविरुद्धको विद्रोहको संज्ञा दिँदै भविष्यमा अर्को नागरिकले यस्तो नियति भोग्न नपरोस् भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, तत्कालीन रास्वपा सभापति रवि लामिछानेले पनि आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै आफूहरू परिवर्तनको राजनीति गर्न आए पनि जनतामा अपेक्षित आशा जगाउन नसकेको भन्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुभएको थियो। उहाँले आचार्यको आत्मदाहलाई लामो समयदेखिको निराशा, पीडा र राज्यप्रतिको अविश्वासको परिणामका रूपमा व्याख्या गर्नुभएको थियो।
त्यसबेला तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले कीर्तिपुर बर्न अस्पतालको आईसीयूमा पुगेर आचार्यसँग भिडियो खिचेको विषय पनि विवादमा परेको थियो। अस्पतालको प्रोटोकल उल्लंघन भएको भन्दै त्यस घटनाले व्यापक आलोचना खेपेको थियो।
त्यसै समय रास्वपाकी नेतृ रञ्जु दर्शनाले प्रेमप्रसाद आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, व्यवसायीका समस्या तत्काल सम्बोधन गर्नुपर्ने र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने चेतावनी दिनुभएको थियो।
यता, राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन भएपछि रास्वपाका अधिकांश शीर्ष नेताबाट तत्काल औपचारिक सार्वजनिक प्रतिक्रिया नआएको भन्दै सामाजिक सञ्जालमा तुलना हुन थालेको छ। सांसद रञ्जु दर्शनाले भने सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उपचार खर्चको विषयभन्दा पनि गणेश नेपाली किन आत्मदाहसम्म पुग्न बाध्य भए भन्ने विषयमा राज्यले निष्पक्ष अनुसन्धान गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले श्रमजीवी तथा विपन्न नागरिकका समस्या समाधानतर्फ सरकार गम्भीर बन्नुपर्नेमा पनि जोड दिनुभएको छ।
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो। परिवारका अनुसार महानगर प्रहरीले उहाँको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि विवाद भएको थियो। गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएका उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद उपचारकै क्रममा उहाँको निधन भएको हो।
यस घटनापछि सामाजिक सञ्जालमा प्रेमप्रसाद आचार्य प्रकरणमा नेताहरूले व्यक्त गरेका धारणा र गणेश नेपाली प्रकरणमा देखिएको सार्वजनिक प्रतिक्रियाको तुलना गर्दै सत्ता र विपक्षमा रहँदाको राजनीतिक व्यवहार फरक देखिएको टिप्पणी भइरहेको छ। यद्यपि, यस विषयमा रास्वपाका अधिकांश शीर्ष नेताहरूले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।













प्रतिक्रिया दिनुहोस्