काठमाडौं, असार २७ । बालेन सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भन्ने आफ्नो पछिल्लो अभिव्यक्ति फिर्ता लिँदै आगामी एक वर्षसम्म कुनै पनि सामाजिक सञ्जाल, युट्युबर वा पत्रकारलाई विशेष सार्वजनिक महत्वका विषयबाहेक अन्तरवार्ता नदिने घोषणा गर्नुभएको छ।आज सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै मन्त्री पुनले केही दिनअघि सामाजिक सञ्जालका केही पत्रकारसँगको अन्तर्वार्ताका क्रममा आफूले व्यक्त गरेको भनाइलाई लिएर गलत बुझाइ भएको उल्लेख गर्नुभयो। त्यसबाट कसैको भावनामा अज्ञानतावश चोट पुगेको भए क्षमायाचना पनि गर्नुभएको छ।
उहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई आवश्यक जरिवाना हुनुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पार्दै ५० हजार रुपैयाँ जरिवानाको विषय भने आफूले नभई अन्तर्वार्ताका क्रममा प्रश्नकर्ताले नै उठाएको दाबी गर्नुभएको छ। “मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हुँ। ५० हजार रुपैयाँ जरिवानाको कुरा उनीहरूले नै निकालेका हुन्,” मन्त्री पुनले वक्तव्यमा उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार ट्राफिक जरिवानाबारे आफूलाई पर्याप्त जानकारी नभएको बताउँदाबताउँदै पनि पटक–पटक सोही विषयमा प्रश्न गरिएको थियो। त्यसैका कारण विवाद सिर्जना भएको उहाँको भनाइ छ।
मन्त्री पुनले अबदेखि आगामी एक वर्षसम्म अति महत्वपूर्ण सार्वजनिक सरोकारका विषय बाहेक कुनै पनि पत्रकार, युट्युबर वा अन्य सामाजिक सञ्जाल माध्यमलाई एक शब्द पनि अन्तरवार्ता नदिने घोषणा गर्नुभएको छ।
साथै उहाँले ट्राफिक नियम उल्लंघन गर्ने, कानुन अटेर गर्ने तथा अपराध गर्ने व्यक्तिलाई आवश्यक जरिवाना र कानुनी सजाय नगरे समाज र देशमा कस्तो अवस्था आउला भन्नेबारे सबैले आत्ममूल्यांकन गर्न आग्रह गर्नुभएको छ। उहाँले आफ्नो अभिव्यक्ति सच्याउँदै सार्वजनिक रूपमा क्षमा माग्नुका साथै सञ्चारमाध्यमसँगको संवादमा एक वर्षको विराम घोषणा गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्