जनता टाइम्स

२७ असार २०८३, शनिबार १६:१५

गणेश नेपालीको न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन, बालेन र रविविरुद्ध नाराबाजी


काठमाडौं, असार २७ । आत्मदाह गरी ज्यान गुमाउनुभएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।

शनिबार दिउँसो ठूलो संख्यामा उपस्थित युवाहरूले सरकार तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गरेका छन् । प्रदर्शनका क्रममा प्रधानमन्त्री शाह र सभापति लामिछानेविरुद्ध समेत चर्को नाराबाजी भएको थियो ।

प्रदर्शनमा ठूलो संख्यामा युवाहरूको उपस्थिति रहेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीलाई कठिनाइ भएको थियो । सम्भावित अप्रिय घटना हुन नदिन वीर अस्पताल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसैबीच, मृतक नेपालीको शव आफन्तले अझै बुझ्नुभएको छैन । उहाँको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

गणेश नेपालीको आत्मदाहपछि पछिल्ला दिनमा सरकारप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै विभिन्न पक्षबाट न्यायको माग उठिरहेको छ ।