काठमाडौं, असार २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य सागर ढकालले सुकुम्बासी बस्ती र आफ्नै साथीहरूमाथि सरकारका तर्फबाट भएको व्यवहारलाई ‘साह्रै कारुणिक’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ढकालले लेख्नुभएको छ, “सुकुम्बासी बस्ती र आज हाम्रै साथीहरूमाथि सरकारको तर्फबाट हुन गएको असुविधा साह्रै कारुणिक छ, आत्महत्या बढ्दै गएको छ।”
सरकारले जनताको तीव्र आकांक्षाअनुसार परिणाम दिन खोजे पनि पर्याप्त तयारी, विस्तृत योजना र मानवीय संवेदनशीलताबिना हतारमा कदम चाल्न नहुने उहाँको धारणा छ। सरकार र नागरिक दुवैले धैर्य तथा सुझबुझका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ। “हामी जति माथि जान्छौँ, जति गति बढाउँछौँ र जनताले जति धेरै शक्ति दिन्छन्, त्यति नै धेरै विनम्रता, करुणा, माया, झुकाव, तयारी, योजना र दूरदर्शिताको आवश्यकता पर्दछ,” उहाँले लेख्नुभएको छ।
देशको भुइँतहमा रहेका नागरिक गम्भीर पीडामा रहेको उल्लेख गर्दै ढकालले रोजगारीका लागि परिवार छोडेर विदेशिनुपर्ने, जागिर खोज्दै सहरमा भौँतारिनुपर्ने र रोग बोकेरसमेत परिवार पाल्न दिनरात मेहनत गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ। उहाँले लेख्नुभएको छ, “जनता पनि निकै नै पीडामा छन्, भुइँतह त ध्वस्त नै छ। धेरैजना परिवार नै छोडेर विदेश जानुभएको छ, जागिर खोज्दै सहरमा भौँतारिनुभएको छ। शरीरमा रोग बोकेर परिवार पाल्न दिनरात नभनी सहरमा कुद्नुभएको छ।”
दशकौँदेखि थुप्रिएका समस्या छोटो अवधिमै समाधान होऊन् भन्ने जनचाहना स्वाभाविक रहेको उहाँको भनाइ छ। पाँच वर्षको जनादेश पाएको सरकारप्रति तीन महिना नपुग्दै काम नगरेको गुनासो आउनुलाई जनताको तीव्र अपेक्षाका रूपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। “मिल्यो भने दशकौँदेखिको यो ज्वरो एक हप्तामै निको होस् भन्ने चाहना हुनु स्वाभाविक हो। हामीलाई पनि ५ वर्षको म्यान्डेट दिनुभएको हो, तर ३ महिना पनि नपुग्दै कामै गरेन भनेर गुनासो गर्नुभएको छ। जनताको यो आकांक्षा हुनु स्वाभाविक हो,” ढकालले उल्लेख गर्नुभएको छ।
जनताको तीव्र आकांक्षाअनुसार सरकारले छिटो ‘डेलिभरी’ दिन खोजे पनि पर्याप्त तयारीबिना अघि बढ्दा समस्या आउन सक्ने उहाँले औँल्याउनुभएको छ। सरकार सञ्चालन र परिवर्तनको प्रक्रियालाई घर निर्माणसँग तुलना गर्दै उहाँले डिजाइनबिना पाँचतले घर बनाउन खोजिएको त होइन भन्ने प्रश्न गर्नुभएको छ। “जनता र सरकार दुवै मिलेर कतै डिजाइन नै नगरी ५ तल्ले घर बनाउन थालेका त छैनौँ ?” उहाँले प्रश्न गर्नुभएको छ।
ढकालले पहिले विस्तृत योजना तयार गरेर मात्रै कार्यान्वयनमा जानुपर्ने बताउनुभएको छ। “पहिले राम्रोसँग नक्सा कोरौँ—खर्च कति लाग्छ, समय कति लाग्छ, जग्गा कस्तो छ, कुन मोहोडामा छ, मिस्त्री र ज्यालादारीको अवस्था कस्तो छ, ती सबै सोचिसकेपछि मात्र घर बनाउन जग हाल्ने कामबाट सुरु गर्नुपर्दछ। अनि बल्ल बलियो घर बन्ने हो,” उहाँले लेख्नुभएको छ।
सरकार र नागरिक दुवैलाई धैर्य गर्न आग्रह गर्दै उहाँले तीन महिनामै अत्यधिक अपेक्षा नगर्न तथा सरकारले पनि पाँच वर्षको काम पाँच महिनामै पूरा गर्ने हतार नगर्न सुझाव दिनुभएको छ। “तयारी व्यापक गरौँ, अनि मात्र पाइला चालौँ। ३ महिनामै जनताले पनि अत्यधिक धेरै अपेक्षा नगरौँ र ५ वर्षको काम ५ महिनामै पूरा गर्न सरकारको तर्फबाट पनि हतार नगरौँ। समय छ, धैर्य राखौँ,” ढकालले उल्लेख गर्नुभएको छ।
देशका समस्या व्यापक रहेकाले विस्तृत अध्ययन र योजना बनाएर मात्रै सुधारका कदम चाल्नुपर्ने उहाँको भनाइ छ। उहाँले परिवर्तनका कदम चाल्दा करुणा र दयाभावलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाली जनताले कठिन र अस्तव्यस्त अवस्थामा देशको जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै सांसद ढकालले चुनौतीका बीच सफल हुन चाहेको बताउनुभएको छ। साथै, आफ्ना तर्फबाट भएका कमी–कमजोरीप्रति नेपाली जनतासँग क्षमासमेत माग्नुभएको छ। “हामीलाई जनताले हाम्रो देश निकै नै कठिन र अस्तव्यस्त मोडमा सुम्पिनुभएको छ। सजिलो छैन तर हामी सफल हुन चाहन्छौँ। म मेरो तर्फबाट भएका कमी–कमजोरीप्रति नेपाली जनतासँग माफी माग्न चाहन्छु,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्