रामेछाप, असार २८ । बागमती प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयाँ बजेटबाट सित्खा–आँपचौर–चुल्ठेपानी सडक खण्डअन्तर्गत भिरपानी स्वास्थ्य चौकीदेखि बुद्ध पार्कसम्मको जटिल क्षेत्रमा सडक स्तरोन्नति तथा संरचना निर्माणको काम सम्पन्न भएको छ।
खाँडादेवी गाउँपालिका-३ का वडाका वडाध्यक्ष पुष्कर कार्कीले दिनुभएको जानकारीअनुसार सडकको कठिन तथा जोखिमयुक्त क्षेत्रमा ९०० र ३०० एमएम मुख भएका ह्युम पाइप व्यवस्थापन गरिएको छ। सडकमा पानी निकास सहज बनाउन १९ थान र थप ५ थान ह्युम पाइप सडक क्रसिङमा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, सडकका अन्य आवश्यक स्थानमा नाला निर्माण तथा मेसिनरी वाल निर्माणको कामसमेत सम्पन्न भएको वडाध्यक्ष कार्कीले बताउनुभयो। सडकको जटिल क्षेत्रमा आवश्यक संरचना निर्माण भएसँगै वर्षायाममा हुने पानीको बहाव व्यवस्थापन र सडक सञ्चालनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
उक्त आयोजनाका लागि बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेट विनियोजनका लागि सहयोग पुर्याउनुहुने बागमती प्रदेशसभा सदस्य आनन्द कुमार श्रेष्ठ र माया कार्कीप्रति वडाध्यक्ष कार्कीले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
आयोजनाको प्राविधिक कार्यमा गाउँपालिकाका इन्जिनियरसहित प्राविधिक टोलीले सहयोग गरेको उहाँले बताउनुभयो। योजना सम्पन्न गर्न दिनरात खटिने उपभोक्ता समिति तथा आयोजनासँग सम्बन्धित सरोकारवाला सबैप्रति पनि वडाध्यक्ष कार्कीले धन्यवाद व्यक्त गर्नुभएको छ।

यसैगरी डप्खा–लाप्का– भलायखर्क–देउराली सडक खण्डको तल्लो साँदीखोलामा पहिरो र जोखिम क्षेत्रमा काम भएको छ । बागमती प्रदेशको आव २०८२/०८३ मा विनियोजित बजेट रु १५ लाखबाट ठेक्का लागि योजना सम्पन्न भएको हो ।
सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै स्थानीयवासीको आवतजावत सहज हुनुका साथै सडकको दिगोपनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्