जनता टाइम्स

२८ असार २०८३, आईतवार १९:२७

पार्टीभित्रै आक्रोश बढेपछि एक्लै रवि निवास पुगे प्रधानमन्त्री बालेन, चार घण्टा राखेर रविले औल्याइदिए गल्ती


काठमाडौं, असार २८ । पार्टीभित्र असन्तुष्टि बढिरहेकै बेला मुगुका गणेश नेपालीको आत्मदाहले संकटमा परेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभापति रवि लामिछाने निवास पुग्नुभएको छ । प्रधानमन्त्री शाह आइतवार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसँग निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री शाह बिहान साढे ११ बजे लामिछानेलाई भेट्न एक्लै उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि बढेपछि सभापति भेटन पुग्नुभएको रास्वपा स्रोतले जनताटाइम्स डटकमलाई  बताएको छ ।

‘प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर पार्टीमा निकै धेरै असन्तुष्टि देखिएको छ । पछिल्लो समय गणेश नेपालीले सरकारकै कारण आत्मदाह गरेपछि सरकारप्रति आक्रोश बढेको छ । खासगरी प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैलीमा पार्टीभित्र आक्रोश देखिएको हो, यही कुरामा प्रष्टिकरणसहित आवश्यक निर्देशन लिन प्रधानमन्त्री सभापतिको निवासमा एक्लै जानुभएको हो,’ लामिछाने निकट एक एक नेताले जनताटाइम्स डटकमसँग भने ।

उनका अनुसार प्रधानमन्त्री र सभापतिबीच निकै गम्भीर, गहन र कार्यशैली सुधारका बिषयमा लामो छलफल भएको छ । दुवै जना एकल रहेकोले छलफलको निचोड भने केहीदिनमा खुल्ने उनले बताए । सभापति लामिछानेसँगको छलफलपछि प्रधानमन्त्री बालेन दिउँसो पौने चार मात्रै बाहिरिनुभएका थियो ।

पछिल्लो समय सरकारप्रतिको बढ्दो असन्तुष्टि र सुकुमवासी व्यवस्थापनका विषयमा छलफल भएको थियो । सुकुम्वासी प्रकरणमा लामिछानेले यसअघि नै सुकुम्वासी प्रकरणमा सरकारको शैलीमा सहमत हुनै नसक्ने भन्दै आपत्ति जनाइसक्नु भएको छ । सुकुम्वासी प्रकरणमा सरकारले पार्टीकै बदनाम गरेको र जनतामा बितृष्णा जगाउने भूमिका खेलेको रविको बुझाइ रहेको छ । त्यसमाथि पार्टीतिर देखाउने र आफूखुसी काम गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

यही बिषयमा छलफल गरी अव एकल होइन, पार्टीको निर्देशनअनुसार चल्ने योजनाका साथ प्रधानमन्त्री बालेनले लामिछानेसँग छलफल गर्नुभएको स्रोतले बतायो । छलफलमा सरकारको सय दिनको समीक्षा, आत्मदाह प्रकरण, सुकुम्वासी प्रकरण, मन्त्रीहरूको अराजकतादेखि पार्टी पदाधिकारी मनोनीत, मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा कुराकानी भएको अर्का नेताले जानकारी दिए ।

रास्वपा सभापति लामिछानेलाई उहाँको टीमले प्रधानमन्त्री बालेनबाट अव देश अगाडि जान सक्दैन भन्ने निश्कर्षसहित आवश्यक कदम चाल्न सुझाइसकेका छन । यस बिषयमा समेत जानकारी प्रधानमन्त्री शाहले पार्टीभित्रको आन्तरिक किचलोबारे आफू कुनै इच्छुक नरहेको भन्दै सवै कुरा मिलाउन र आफ्ना टीमलाई सम्झाउन आग्रह गर्नुभएको समेत स्रोतले बताएको छ ।

सभापतिको मान्छे मेरो पनि हुनुपर्यो नि भन्दै प्रधानमन्त्री बालेनले कतिपय बिषयमा बाहिर आएका असन्तुष्टिबारे आफू राजनीतिक रुपमा अबुझ नै रहेको भनाईसमेत राखेको बताइएको छ ।