काठमाडौं, असार २८। नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याइएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँले प्रसाईंलाई पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिइएको घटनाले बालेन नेतृत्वको सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गर्नुभएको हो।
सचिव बस्नेतले आलोचनाको सामना गर्न नसक्ने सत्ताले प्रहरी प्रशासनको आडमा आवाज दबाउने बाटो रोज्नु लोकतान्त्रिक व्यवस्थाका लागि उचित नहुने बताउनुभएको छ। उठेका प्रश्नको जवाफ विचार, तर्क र संवादमार्फत दिनुपर्नेमा शक्ति प्रयोग गरेर असहमतिको आवाज नियन्त्रण गर्ने प्रवृत्ति लोकतन्त्रका लागि अशुभ संकेत भएको उहाँको भनाइ छ।
उहाँले आवाज दबाउँदैमा उठेका प्रश्न समाप्त नहुने उल्लेख गर्नुभएको छ। नियन्त्रण, दबाब र शक्ति प्रदर्शनका माध्यमबाट केही समय व्यक्तिलाई रोक्न सकिए पनि जनमत र नागरिकका प्रश्नलाई दीर्घकालसम्म रोक्न नसकिने सचिव बस्नेतको धारणा छ।
लोकतान्त्रिक व्यवस्थामा फरक विचार र असहमतिलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले दमन र शक्ति प्रदर्शनको बाटो अपनाउनु उचित नहुने बताउनुभएको छ। “आवाज थुनेर प्रश्नहरू मेटिँदैनन्। नियन्त्रण, दबाब र शक्ति प्रदर्शनले केही समय मानिसलाई रोक्न सकिएला, तर जनमतलाई कहिल्यै रोक्न सकिँदैन,” उहाँले भन्नुभएको छ।
सचिव बस्नेतले लोकतन्त्रमा असहमतिलाई सम्मान गर्दै उठेका प्रश्नको जवाफ राजनीतिक विचार, संवाद र लोकतान्त्रिक अभ्यासबाट दिनुपर्नेमा जोड दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्