काठमाडौं, असार २९ । नेपाल पत्रकार महासंघले काठमाडौंका विभिन्न सञ्चारगृहका प्रवेशद्वारमा पत्रकार तथा उनीहरूका सवारी साधन आवतजावतमा अवरोध पुग्ने गरी शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले दिनुभएको जानकारीअनुसार महासंघको टोलीले आइतबार बिहानैदेखि घटनास्थलमा पुगेर स्थलगत अध्ययन गरेको हो।महासंघकी अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडा सम्मिलित टोलीले बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको प्रवेशद्वारमा शंकास्पद रूपमा राखिएका गाडीको अवस्थाबारे स्थलगत अध्ययन गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार सञ्चारगृहका गेटमा राखिएका गाडी दिउँसो २ बजेसम्म पनि हटाउन राज्यका निकायले प्रभावकारी पहल नगरेको र प्रहरीसमेत मुकदर्शक बनेर बसेको अवस्था देखिएको थियो।
अध्यक्ष शर्माले उक्त अवस्थाले राज्यकै संलग्नतामा सञ्चारमाध्यम र पत्रकारमाथि त्रास सिर्जना गर्न खोजिएको हो कि भन्ने गम्भीर आशंका उत्पन्न भएको बताउनुभएको छ।
महासंघले राज्यबाट मिडियामाथि नियन्त्रण कायम गर्ने तथा सञ्चारमाध्यमको आवाज दबाउने प्रयास भएको भन्दै घटनाको घोर भर्त्सना गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भौतिक रूपमा अवरोध सिर्जना गर्ने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ।
त्यस्तै, सञ्चारगृह अगाडि राखिएका गाडी तत्काल हटाई सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न महासंघले सम्बन्धित निकायसँग जोडदार माग गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
महासंघले सञ्चारमाध्यम र पत्रकारले संविधान तथा कानुनप्रदत्त अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउने वातावरणमा अवरोध पुर्याउने यस्तो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्नुपर्नेमा जोड दिएको छ।
घटनामा संलग्न दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही गर्नसमेत नेपाल पत्रकार महासंघले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष शर्माले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्