जनता टाइम्स

२९ असार २०८३, सोमबार २०:३४

मिडिया हाउस त्रसित बनाउने घटनामा संसदीय समितिको चासो, दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन


काठमाडौं,  असार  २९। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै दोषीको पहिचान गरी कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरका कार्यालयअगाडि निजी नम्बर प्लेटका सवारीसाधन शंकास्पद ढंगले पार्किङ गरिएको घटनाले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएको बताउनुभयो।

उहाँले सञ्चारमाध्यमलाई त्रसित बनाउने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सभापति बास्कोटाले समितिलाई प्राप्त जानकारीअनुसार ती सवारीसाधन निजी नम्बर प्लेटका रहेको र ट्राफिक प्रहरीले हटाइसकेको जानकारी दिनुभयो। सरकारले योजनाबद्ध रूपमा यस्तो कार्य गरेको भन्ने आधार नरहेको उल्लेख गर्दै उहाँले वास्तविक दोषी पत्ता लगाउन सुरक्षा निकायले गम्भीर अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

सोमबार बिहान कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरका कार्यालय प्रवेशद्वारमा एकै समयमा उस्तै शैलीमा सवारीसाधन पार्किङ गरिएको थियो। कार्यालयको आवतजावतमा अवरोध भएपछि सम्बन्धित सञ्चारगृहले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेर सवारीधनीको खोजी सुरु गरेको थियो।

घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ। संसदीय समितिले प्रेस स्वतन्त्रताको सम्मान गर्दै यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ।