जनता टाइम्स

३० असार २०८३, मंगलवार ०९:२०

छद्म हर्कहरूले सरकारको कमजोरी लुक्दैन, उल्टै नियत छर्लङ्ग हुन्छ : शङ्कर पोखरेल


काठमाडौं, असार ३० । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बाध्यता र बदनियतबिचको फरक छुट्टाउनुपर्ने बताउनुभएको छ।

सवारीसाधन पार्किङसँग जोडिएको प्रसङ्गमा धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले आकस्मिक कामका कारण केही समय सडक छेउमा सवारीसाधन पार्किङ गर्नु र नियतवश सञ्चारगृहको आवागमन अवरुद्ध गर्नु एउटै विषय हुन नसक्ने बताउनुभएको हो।उहाँले भन्नुभएको छ, “कुनै आकस्मिक काम वा छुट्टापैसा साट्नका लागि बाध्यतावश सडकको छेउमा केही समय सवारीसाधन पार्किङ गर्नु र जानीजानी कसैलाई दुःख दिने वा प्रतिशोध साँध्ने उद्देश्यले सञ्चारगृहको आवागमन नै ठप्प हुने गरी घण्टौँसम्म गाडी तेर्स्याउनु कदापि एउटै हुन सक्दैन।”

महासचिव पोखरेलले एउटा घटनालाई नागरिकको सामान्य मानवीय बाध्यताका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै अर्को घटनालाई राज्यशक्तिको आडमा गरिएको बदनियतपूर्ण कार्यको संज्ञा दिनुभएको छ। “एउटा नागरिकको सामान्य मानवीय बाध्यता हो भने अर्को राज्यशक्तिको आडमा गरिएको बदनियत र स्वेच्छाचारिता,” उहाँले भन्नुभएको छ।

पोखरेलले यस्ता गतिविधिले कमजोरी लुकाउन नसक्ने बरु सम्बन्धित पक्षको नियत थप स्पष्ट हुने टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “यस्ता छद्म हर्कहरूले कमजोरी लुक्दैन, उल्टै नियत छर्लङ्ग हुन्छ।”