जनता टाइम्स

३० असार २०८३, मंगलवार ११:३०

सञ्चारगृहको गेटमा गाडी तेर्स्याउनु पञ्चायती मण्डले प्रवृत्ति हो : गणेशसिं ठगुन्ना


काठमाडौं, असार ३० । नेकपा एमालेका सांसद गणेशसिं ठगुन्नाले देशको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले कालापानी र लिपुलेकको विषय उठाउँदै सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न गर्नुभएको हो।उहाँले भन्नुभयो, “देशको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने दायित्व सरकारको हुन्छ। भारतले कालापानी र लिपुलेक कब्जा गरी सडक बनाएर चीनको मानसरोवरसम्म व्यापार सञ्चालन गर्दै आएको छ।”

सांसद ठगुन्नाले यस्तो अवस्थामा प्रधानमन्त्रीबाट नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउनुभयो। उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन गरिएको मागको बेवास्ता हुनु विडम्बनापूर्ण भएको उहाँको भनाइ छ। “प्रधानमन्त्रीले दिनुभएको उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गर्दा बेवास्ता हुनु विडम्बनापूर्ण हो,” उहाँले भन्नुभयो।

ठगुन्नाले सुकुम्बासी बस्ती हटाइएको विषयमा समेत सरकारको आलोचना गर्नुभयो। उहाँले विदेशी सेनाले आक्रमण गरेजसरी सुकुम्बासी बस्ती हटाउने काम भएको आरोप लगाउँदै अहिले सुकुम्बासी नागरिकको अवस्था दयनीय बनेको बताउनुभयो। उहाँले प्रश्न गर्नुभयो, “विदेशी सेनाले आक्रमण गरेजसरी सुकुम्बासी बस्ती हटाउने काम पनि विडम्बनापूर्ण छ। अहिले सुकुम्बासीको बिजोग भएको छ। के गरिब विपन्नले अब उपचार गराउन पनि नपाउने हो?”

सञ्चारमाध्यमको प्रवेशद्वारमा गाडी तेर्स्याइएको घटनाप्रति पनि आपत्ति जनाउँदै सांसद ठगुन्नाले उक्त कार्यले पञ्चायती प्रवृत्तिको झल्को दिएको टिप्पणी गर्नुभयो। “सञ्चारमाध्यमको गेटमा गाडी तेर्स्याउने कार्य पञ्चायती मण्डले प्रवृत्तिको झल्को दिने कार्य हो। यसको एमाले निन्दा गर्दछ,” उहाँले भन्नुभयो।