जनता टाइम्स

३० असार २०८३, मंगलवार ११:४१

राज्य संरक्षित मान्छेबाट दिनभरि काठमाडौंका सडकहरू जाम गराइयो, प्रतिपक्षी दलका नेता र सञ्चारमाध्यम अगाडि गाडी तेर्स्याइयो : रमेश मल्ल


काठमाडौं, असार ३० । प्रतिनिधि सभा सदस्य रमेश मल्लले सरकारले विरोधी आवाजलाई दबाउने उद्देश्यले दमनको नीति अपनाएको बताउनुभएकाे छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले राज्य संरक्षित व्यक्तिहरूबाट काठमाडौंका सडकमा दिनभर सवारी जाम गराइएको तथा प्रतिपक्षी दलका नेता र सञ्चारमाध्यमको कार्यालय अगाडि गाडी तेर्स्याइएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, “राज्य संरक्षित मान्छेहरूबाट दिनभरि काठमाडौंका सडकहरू जाम गराइयो, प्रतिपक्षी दलका नेता र सञ्चारमाध्यम अगाडि गाडी तेर्स्याइयो।”

सांसद मल्लले सवारी नियम उल्लङ्घनमा लाखौँ रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल चलाउने सरकारले सञ्चारमाध्यम र प्रतिपक्षी दलका नेताको घर अगाडि गाडी तेर्स्याउने व्यक्तिलाई सामान्य जरिवाना गरेर छाडेको भन्दै आपत्ति जनाउनुभयो। “लाखौँको जरिवाना गर्ने छलफल चलाउने सरकारले सञ्चारमाध्यम र प्रतिपक्षी दलका नेताको घर अगाडि गाडी तेर्स्याउनेलाई पाँच सयको चिट काटेर छाडेको छ, यो सर्वथा गलत छ,” उहाँले भन्नुभयो।

उहाँले घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो।

बागमती नदी किनारबाट हटाइएका सुकुम्बासीको विषयसमेत उठाउँदै सांसद मल्लले उनीहरूलाई कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेर थप समस्यामा पारिएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “बागमती किनारबाट उठाइएका सुकुम्बासीलाई कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेर डुबाइयो, त्यो बुझ्न गएकालाई गिरफ्तार गरी यातना दिइएको छ।”

सरकारले आफ्नाविरुद्ध आवाज उठाउनेहरूलाई त्रसित बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै सांसद मल्लले यस्तो कार्यलाई निरंकुशताको संज्ञा दिनुभयो। “सरकारका विरुद्ध बोल्ने आँट कसैले नगरोस् भनेर सरकारले दमन सुरु गरेको छ, यो निरंकुशता हो,” उहाँले भन्नुभयो।