काठमाडौं, असार ३० । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढेको बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले संविधानभन्दा माथि कोही पनि नरहेको बताउँदै बहुमत प्राप्त हुँदैमा संविधान उल्लङ्घन गर्ने अधिकार नपाइने धारणा राख्नुभयो। “बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स दिँदैन। यो संविधान सर्वोच्च कानुन हो, बहुमत संविधानभन्दा माथि छैन,” उहाँले भन्नुभयो।
सरकारले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनै नपाइने अवस्था सिर्जना गर्न खोजेको आरोप लगाउँदै राईले यस्तो प्रवृत्ति लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनुभयो। “सरकारले खासगरी ‘श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन’ भनेर स्थापित गर्न खोजिरहेको छ। देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,” उहाँले भन्नुभयो।
राईले विगतमा ‘मलाई बोल्न दे सरकार’ र ‘गरिबको चमेली बोलिदिने कोही छैन’ जस्ता गीत गाउँदै हिँड्ने व्यक्ति र अहिले १८२ सिटको प्रचण्ड बहुमतसहित कार्यकारी भूमिकामा रहेका व्यक्ति एउटै हुन् कि होइनन् भन्ने प्रश्न उब्जिएको टिप्पणी गर्नुभयो।
उहाँले राज्य अनधिकृत नेटवर्कबाट सञ्चालन हुन थालेको आरोपसमेत लगाउनुभयो। सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरू सक्रिय भइरहँदा सत्ता पक्षका सांसदहरू मौन बसेको उहाँको भनाइ थियो।
राईले सरकारका अलोकतान्त्रिक गतिविधिको निन्दा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापा र सञ्चारगृह अगाडि गाडी तेर्स्याइएको घटनालाई ‘राज्य आतंक’को संज्ञा दिनुभयो। उहाँले उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न सरकारसँग मागसमेत गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्