जनता टाइम्स

३० असार २०८३, मंगलवार १९:००

मिडिया तर्साउन राखिएका गाडीमाथि भएन कुनै कारवाही, गृहकै आदेशमा जरिवाना पनि नतिराई छाडियो


काठमाडौं, असार ३० । मिडिया हाउसलगायत काठमाडौंका विभिन्न स्थानमा आवागमनमा अवरोध गर्न बेवारिसे छाडिएका पाँच वटै गाडीहरू कारवाही नगरी सवारी धनीलाई फिर्ता गरिएको खुलासा भएको छ । गृहमन्त्री सुधन गुरुङको आदेशमा सोमबार राति नै बेवारिसे पार्किङ गरी आतंक मच्चाउने समुहलाई ससम्मान गाडी बुझाएर पठाइएको पाइएको हो ।

गाडीको साँचो लिएर आउने व्यक्तिहरुलाई ट्राफिक कार्यालयले ती गाडी जिम्मा लगाएर पठाएको एक अधिकारीले जनताटाइम्स डटकमलाई बताए । उनका नुसार गृह मन्त्रालयले गाडीलाई बिना कार्वाही छाडन आदेश दिएपछि जरिवानासमेत नगरी फिर्ता पठाइएको छ ।

कान्तिपुर, अनलाइन खवर र हिमालय टेलिभिजनका साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास र भाटभटेनी सुपर स्टोरमा सोमवार पार्किङ गरिएका गाडीहरू शंकाष्पदरूपमा नै छुटेका हुन् । उपत्यका ट्राफिकले गृहको आदेशमा सामान्य जरिबाना पनि नतिराइ गाडी छाडिदिएपछि यो घटनामा सरकारको संस्थागत संलग्नता देखिएको तथ्य समेत उजागर भएको छ । यस बिषयमा उपत्यका प्रहरी कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ अधिकारीहरु केही बताउन चाहिरहेका छैनन ।

‘सत्य बोल्न नसकिने, झुटो कुरा गरे आफैमाथि समाज खनिने’ भन्दै अनौपचारिक रुपमा प्रहरी अधिकारीबीच कुराकानी मात्रै गर्ने गरेको देखिएको हो । प्रहरी अधिकारीहरूका अनुसार सोमबार राति गृह मन्त्रालयले ती गाडीलाई तत्कालै छोड्न आदेश दिएको थियो ।

पछिल्लो समय कानून होइन, मन्त्रीको आदेशलाई सिरोधार्य गर्ने लयतिर हिडन थालेको प्रहरीले गृहको आदेश आउन साथ चुपचाप गाडी दिएर पठाएको हो । उनीहरु ठाँटका साथ मन्त्रालयकै हवाला दिएर पुगेको र गाडी लिएर गएको एक जवानले बताए । गाडी बुझेर लैजाने व्यक्ति सवारी धनी नभएर अर्कै व्यक्ति रहेको पनि उनको भनाई छ । उनीहरुको नाम उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा समेत राखिएको छैन ।

शंकास्पद पार्किङ गरिएका गाडीका धनी पनि पहिचान भइसकेको छ । गगन थापाको घरमा राखिएको गाडी कुमारप्रसाद अर्यालको नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको छ । उनी रास्वपामा आवद्ध ब्यक्ति हुन । यस्तै कान्तिपुर पब्लिकेसन्सअगाडि राखिएको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका छोरा एवं रास्वपाका केन्द्रीय विभाग सदस्य रवि जयसवालको नाममा रहेको छ भने अनलाइन खवरको अगाडि राखिएको गाडी पनि रास्वपा निकट ब्यवसायीकै रहेको पाइएको छ ।

सरकारको चरम असफलता ढाकछोप तथा मुगुका गणेश नेपालीको आत्मदाह, सुकम्ुवासीमाथिको अमानवीय ब्यवहार र आकासिदो महंगीबाट जनताको ध्यान मोडन र आत्मदाह गर्ने ब्यक्ति गलत भन्ने देखाउने सोमवार उपत्यकामा सरकारमा रहेकै पदाधिकारीको योजनामा योजनावद्ध आतंक मच्चाउन लगाइएको थियो । सोहीकारण बदमासीमा संलग्नहरूलाई कार्वाहीको साटो पुरस्कृत गर्ने भन्दै ज्वाईंको सम्मान दिएर सरकारले पठाएको हो ।