काठमाडौं, असार ३१। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना विरोधीहरूलाई लक्षित गर्दै खुला पत्र लेख्नुभएको छ। उहाँले आफ्नो विरोध र खुट्टा तान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाउँदै देश निर्माण र विकासको अभियानमा सहयोग गर्न आह्वान गर्नुभएको हो।
‘मेरा विरोधीहरूलाई खुला पत्र’ शीर्षकमा आफ्ना धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति, प्रगति र विकासका लागि निरन्तर समर्पित रहेको दाबी गर्नुभएको छ।
उहाँले आफ्नो खुट्टा तान्नु भनेको व्यक्तिगत रूपमा हर्क साम्पाङको मात्र विरोध नभई देशको विकास र समृद्धिको यात्रामा बाधा पुर्याउनु भएको टिप्पणी गर्नुभएको छ। “कति साह्रो खुट्टा तान्न मरिहत्ते गर्छौ हौ तिमी ? तिमीले तान्ने खुट्टा कसको हो, थाहा छ ? यो देशको उन्नति, प्रगति र विकास होस् भन्नका खातिर दिनरात आफूलाई समर्पित गरेर एक थोपा पनि व्यक्तिगत स्वार्थ नराखी देश निर्माण र सेवामा लागिरहने मान्छेको खुट्टा हो त्यो,” साम्पाङले पत्रमा उल्लेख गर्नुभएको छ।
उहाँले अरूलाई काम गर्न नदिने र अघि बढ्न खोज्दा बाधा सिर्जना गर्ने प्रवृत्तिको भावी पुस्ताले समेत मूल्याङ्कन गर्ने बताउनुभएको छ। वर्तमान पुस्ताले गरेका काम र व्यवहारको प्रभाव भावी सन्ततिसम्म पुग्ने उल्लेख गर्दै उहाँले विकासमा अवरोध गर्नेहरूलाई इतिहासले सकारात्मक रूपमा नसम्झिने चेतावनीसमेत दिनुभएको छ।
देश लामो समयसम्म अभाव, गरिबी र अन्यायमा रहनुमा नकारात्मक सोच र काम गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने प्रवृत्ति पनि जिम्मेवार रहेको साम्पाङको भनाइ छ।
उहाँले आफू नेपाललाई समृद्ध राष्ट्रहरूको सूचीमा पुर्याउँदै व्यवस्थित मुलुकका रूपमा विकास गर्न चाहेको उल्लेख गर्नुभएको छ। आफ्नो हरेक समय र सोच देश कसरी निर्माण गर्ने भन्ने विषयमा केन्द्रित रहेको उहाँको दाबी छ।
“म यो देशलाई समृद्ध देशहरूको सूचीमा सूचीकृत गर्दै सबैभन्दा सुव्यवस्थित देश बनाउन चाहन्छु। देश सोच्न सकूँ, म देश बोल्न सकूँ। मेरो हरेक पलको सोचाइमा यो देश कसरी बनाउने भन्ने छ,” उहाँले लेख्नुभएको छ।
अध्यक्ष साम्पाङले आफूले परिकल्पना गरेको विकास र समृद्धिबाट विरोधीहरू समेत लाभान्वित हुने उल्लेख गर्दै अनावश्यक विरोध गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ।
उहाँले आफूले ल्याएको पानी सबैले प्रयोग गरेको, निर्माण गरेका बाटोमा सबै हिँडेको, रोपिएका फूल र वृक्षबाट सबैले सुगन्ध, अक्सिजन र शीतलता पाएको तथा निर्माण गरिएका पार्क र पुल सबै नागरिकका लागि भएको उल्लेख गर्नुभएको छ। “मैले ल्याएको पानी तिमीले खाएनौ र ? मैले बनाएको बाटोमा तिमी हिँडेनौ र ? मैले रोपेका फूलहरूले मलाई मात्रै सुवास दिएका हुन् र ? मैले रोपेका वृक्षले तिमीलाई अक्सिजन र शीतलता दिँदैनन् र ? मैले बनाएका पार्कमा तिमी र तिम्रा सन्तान रमाउँदैनन् र ?” साम्पाङले प्रश्न गर्नुभएको छ।
त्यस्तै, आफूले निर्माण गर्न चाहेको नीति र विधिले नागरिकको सुरक्षा, सेवा र समृद्धिको परिकल्पना गरेको उहाँले बताउनुभएको छ। सामाजिक तथा सांस्कृतिक अभियानसमेत समाजको सुधार र सशक्तीकरणका लागि सञ्चालन गरिएको उहाँको भनाइ छ।
साम्पाङले आफूबाट गल्ती भएको भए स्पष्ट रूपमा देखाउनसमेत विरोधीहरूलाई चुनौती दिनुभएको छ। देश बनाउने प्रयास नै आफ्नो गल्ती हो कि भन्दै उहाँले प्रश्न गर्नुभएको छ। श्रम र श्रमदानको अभियानमा नागरिकहरू जोडिँदै गएको उल्लेख गर्दै अध्यक्ष साम्पाङले विरोधमा समय खर्चिनुभन्दा देश निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ।
पत्रमा उहाँले आफ्ना विरोधीलाई व्यङ्ग्यात्मक रूपमा ‘हविगु’ अर्थात् ‘हर्क साम्पाङको विरोधी गुइँठे’ नामसमेत दिनुभएको छ। यद्यपि, विरोध छाडेर श्रमदानमा सहभागी भए ‘हसश्र’ अर्थात् ‘हर्क साम्पाङको सहयोगी श्रमदाता’को परिचय दिने उहाँले उल्लेख गर्नुभएको छ। “तिमीलाई मेरो आह्वान छ, ढुङ्गा बोक्न आऊ। अनि तिम्रो टाइटल ‘हविगु’बाट ‘हसश्र’ अर्थात् हर्क साम्पाङको सहयोगी श्रमदाता राखिदिनेछु,” उहाँले लेख्नुभएको छ।
अध्यक्ष साम्पाङले देश बनाउने र देश बिगार्ने दुई बाटामध्ये विकास तथा निर्माणको बाटो रोज्न आग्रह गर्नुभएको छ। नकारात्मक सोच परिवर्तन नभएसम्म बिग्रिएको देश सुधार हुन कठिन हुने उहाँको निष्कर्ष छ।
साम्पाङले विरोधीहरूलाई सोच र व्यवहार सुधार्न आग्रह गर्नुभएको छ। उहाँले देश निर्माणका लागि व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर श्रम, सहकार्य र सकारात्मक सोचसहित अघि बढ्न आह्वान गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्