जनता टाइम्स

३१ असार २०८३, बुधबार १६:१६

सीमाको सुरक्षामा सरकार उदासीन : एमाले सांसद गङ्गादेवी श्रेष्ठ


काठमाडौं,  असार ३१ । नेकपा (एमाले) की सांसद गङ्गादेवी श्रेष्ठले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षाप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सीमा क्षेत्रमा रहेका जङ्गे पिल्लर खिइने तथा सारिने क्रम जारी रहँदा त्यहाँका नागरिक असुरक्षित महसुस गरिरहेको बताउनुभयो। उहाँले सुस्तालगायतका सीमावर्ती क्षेत्रमा नेपाली नागरिक भारतीय पक्षसँग एक्लै जुध्न बाध्य भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनुभयो।

उहाँले, “सीमा क्षेत्रका नागरिक आतंकित छन्। राति नेपालमा सुतेर बिहान उठ्दा भारततर्फ परेको अनुभूति हुने अवस्था सिर्जना भएको छ,” भन्दै सीमा सुरक्षामा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांसद श्रेष्ठले नेपाली सेना देशको सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन हुन नसकेको टिप्पणी गर्दै सीमावर्ती क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो।

उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि दिनुभएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने आफ्नो दलको माग यथावत् रहेको बताउँदै उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत र आपत्तिजनक रहेको दाबी गर्नुभयो। भारतसँगको सीमा विवादका सन्दर्भमा नेपालको अडान स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो।

सांसद श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले देखावटी अभियान चलाएको आरोपसमेत लगाउँदै गरिब तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको टिप्पणी गर्नुभयो। साथै, पछिल्लो समय देशभर भइरहेका आन्दोलन र प्रदर्शनप्रति समेत सरकार गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।