जनता टाइम्स

३२ असार २०८३, बिहीबार ०९:४९

सप्तकोसीमा पानीको बहाव बढ्दो, कोशी ब्यारेजका २१ वटा ढोका खोलिए


काठमाडौं, असार ३२ । निरन्तरको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। पानीको सतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बुधबार राति कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २ सय ३० क्युसेक पुगेको छ। पूर्वी नेपालमा वर्षा जारी रहेकाले आगामी दिनमा बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरसहित कुल ५६ वटा ढोका रहेका छन्। पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

वर्षायाम सुरु भएसँगै शान्त देखिने सप्तकोसीले उग्र रूप लिन थालेको छ। यस कारण नदी आसपासका क्षेत्रका बासिन्दा तथा नेपाल र भारत दुवै देशका सरोकारवाला निकायले नदीको अवस्थालाई विशेष निगरानीमा राखेका छन्।

असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने लगातार वर्षाका कारण सप्तकोसीसहित विभिन्न नदीमा पानीको सतह बढ्ने, डुबान तथा कटानको जोखिम पनि उच्च रहने गर्दछ।

सप्तकोसी नदी तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको संगमबाट बनेको हो। वर्षायाममा विशाल जलप्रवाह बोक्ने यो नदी सुख्खा मौसममा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ।