काठमाडौं, असार ३२ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू तत्काल राजीनामा नदिने र सरकार नछाड्ने पक्षमा उभिएका छन्।
संसदीय दलमा बहुमत देउवा पक्षको रहेको र सरकारमा रहेका अधिकांश मन्त्री सोही समूहका भएकाले पार्टी केन्द्रको निर्देशनअनुसार हतारमा सरकारबाट बाहिरिने पक्षमा उनीहरू नरहेको बुझिएकाे छ ।
अहिले प्रदेशमा बजेटसम्बन्धी कुनै तत्कालीन विषय नरहेकाले एमालेसँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाउनुपर्ने औचित्य नरहेकाे उहाँहरुकाे निष्कर्ष छ। अन्य प्रदेशमा देखिएको राजनीतिक विवादको असर लुम्बिनीमा पार्न नहुने धारणा राख्दै अहिले गठबन्धन परिवर्तन गर्नु अपरिपक्व राजनीतिक कदम हुने उहाँहरुकाे तर्क छ ।
पूर्वसहमतिअनुसार आवश्यक परे सरकारको नेतृत्व परिवर्तनको विषयमा छलफल हुन सक्ने उल्लेख गर्दै गठबन्धन नै परिवर्तन गर्नु उचित विकल्प नभएको उहाँहरुकाे ठहर छ ।
यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताउनु भएकाे थियाे। प्रदेश समितिमा संस्थापन पक्षको प्रभाव रहे पनि संसदीय दलमा देउवा पक्षको बहुमत रहेको छ।
मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल निर्णय नगर्ने भएको छ। प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे थप परामर्श आवश्यक रहेको निष्कर्ष निकाल्दै निर्णय केही समयपछि गर्ने सहमति भएको जनाइएको छ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाउनुभएको थियो। तर केही मन्त्री काठमाडौंमा र केही गृह जिल्लामा रहेकाले सबैको उपस्थिति हुन नसकेपछि बैठकले कुनै ठोस निर्णय गर्न सकेन।
केन्द्रमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेपछि त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि पर्ने चर्चा भइरहेका बेला लुम्बिनीमा भने कांग्रेसले तत्काल कुनै कदम नचाल्ने संकेत दिएको छ।
८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सांसद छन्। कांग्रेस र नेकपाको संयुक्त संख्या ४० मात्रै हुने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत जुटाउन साना दलहरूको समर्थन निर्णायक बन्ने देखिन्छ।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहभागी हुनुहुन्छ।
उता नेकपा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक यमुना रोका तामाङले प्रदेश सरकारको वर्तमान सत्ता समीकरण तत्काल परिवर्तन हुने अवस्था नरहेको बताउनुभएको छ। उहाँका अनुसार अन्य प्रदेशमा केही असमझदारी देखिए पनि लुम्बिनीमा त्यस्तो अवस्था नरहेको र केन्द्रको राजनीतिक समीकरण स्पष्ट भएपछि आवश्यक प्रक्रिया अघि बढ्नेछ।













प्रतिक्रिया दिनुहोस्