जनता टाइम्स

२ श्रावण २०८३, शनिबार ०९:५५

आज तामाकोशी नदीमा उच्च सतर्कता अपनाउन आग्रह, माथिल्लो तामाकोशीले ११ घण्टा जलाशय फ्लसिङ गर्दै


दोलखा, साउन २ । तामाकोशी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले आज शनिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएकाले तामाकोशी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हाे।

जलविद्युत केन्द्रका अनुसार फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव आउनेछ। यसको प्रभाव तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रका लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्म पर्ने जनाइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै केन्द्रले उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ नदी तर्ने, गिटी–बालुवा निकाल्ने तथा नदीबाट सवारीसाधन वारपार गराउने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

त्यस्तै, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार तथा अन्य धार्मिक संस्कार गर्नुपर्ने अवस्था आएमा विशेष सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ।

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले फ्लसिङ अवधिभर नदी आसपासका स्थानीयवासी, व्यवसायी तथा सरोकारवालालाई सतर्क रहन आग्रह गर्दै नदीको बहावमा आउने आकस्मिक परिवर्तनप्रति विशेष ध्यान दिन अनुरोध गरेको छ।