जनता टाइम्स

२ श्रावण २०८३, शनिबार १३:०४

प्रदेश सरकार फेरबदलमा नेकपा अग्रसर हुँदैन, बाध्यात्मक अवस्था आए मात्र सहकार्य : नारायणकाजी श्रेष्ठ


काठमाडौं, साउन २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी प्रदेश सरकार परिवर्तन गर्ने वा सरकारमा सहभागी हुने उद्देश्यले कुनै पहल नगर्ने स्पष्ट गर्नुभएको छ। उहाँले कांग्रेस र एमालेले बाँकी कार्यकालसम्म प्रदेश सरकार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्दै सरकार बनाउने–फाल्ने खेलमा नेकपा नलाग्ने बताउनुभएको हो।

श्रेष्ठले सार्वजनिक गर्नुभएको धारणामा कांग्रेस र एमालेले आपसी सहमतिमा सरकार सञ्चालन गर्न नसकेर नेकपालाई समेत सरकारमा सहभागी हुन संयुक्त रूपमा आग्रह गरेमा भने अर्को निर्वाचनसम्मका लागि साझा समझदारीमा सरकार सञ्चालन गर्न सकिने उल्लेख गर्नुभएको छ। तर, यस्तो व्यवस्था अपवादका रूपमा मात्र स्वीकार्य हुने र सामान्य अवस्थामा उपयुक्त नहुने उहाँको भनाइ छ।

उहाँले कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने अवस्थामा पुगेर प्रदेशसभा नै विघटन गरी तत्काल निर्वाचनमा जाने परिस्थिति सिर्जना हुन नदिन आवश्यक परे कुनै एक पक्षसँग मिलेर सरकार गठन गर्ने बाध्यात्मक विकल्प स्वीकार गर्न सकिने धारणा राख्नुभएको छ।

श्रेष्ठका अनुसार त्यस्तो अवस्था आएमा राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा तथा समग्र नेपाली कम्युनिष्ट आन्दोलनको हितलाई केन्द्रमा राख्दै कम्युनिष्ट तथा वामपन्थी शक्तिबीचको सहकार्यलाई प्राथमिकता दिइनेछ। वामपन्थी शक्तिविरुद्ध अन्य कुनै राजनीतिक शक्ति वा मोर्चासँग सहकार्य नगर्ने नीति पार्टीको केन्द्रीय कार्य संयोजन समितिले यसअघि नै निर्णय गरिसकेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र नेपाली कम्युनिष्ट आन्दोलन अहिले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै सबै राजनीतिक शक्तिले बाह्य हस्तक्षेप, राष्ट्रिय आत्मसमर्पणवाद र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिनुभएको छ।

श्रेष्ठले विगतका कमजोरीबाट शिक्षा लिएर त्यस्ता गल्ती दोहोरिन नदिन आग्रह गर्दै इतिहासले सुम्पेको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गरी राष्ट्रिय हित, लोकतन्त्र र वाम आन्दोलनको संरक्षणका लागि विवेकपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।