काठमाडौं, साउन २ । सप्तरीस्थित राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीच उत्पन्न विवादका कारण तनाव सिर्जना भएको छ। विवादका क्रममा पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
कारागारका प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद भइरहेको थियो। सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार घटनापछि कारागारभित्र आन्तरिक छलफल जारी रहेको छ भने दुवै पक्षबीच सहमतिनजिक पुगेको अवस्था रहेको छ।मण्डलले आत्मदाहको प्रयास भए पनि घटनास्थलमै चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति नभएको बताउनुभयो।
यसैबीच, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारद्वारा एक कैदीलाई सामान्य कुटपिट गरिएको विषयबाट विवाद सुरु भएको जानकारी दिनुभयो। त्यसपछि अन्य कैदीबन्दीले सबैलाई सम्मानजनक व्यवहार गरिनुपर्ने माग राख्दै विरोध जनाएको उहाँले बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कैदीबन्दीहरूले प्रहरीतर्फ अघि बढ्ने क्रममा आत्मदाहको प्रयास गरेका थिए। सुरक्षा निकाय र प्रशासनले तत्काल हस्तक्षेप गरी उनीहरूलाई सम्झाइबुझाइ गरेपछि अहिले कारागारको अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान र आन्तरिक छलफल जारी रहेको प्रशासनले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्