काठमाडौं, मंसिर २ । गृहमन्त्री सुदन गुरुङकी आमा ज्ञानु लामाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युट्युबर छत्र बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालीकोट घर भई भक्तपुर बस्दै आएका बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा पक्राउ परेका बोगटीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
गृहमन्त्रीकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा बोगटीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
लामो समयदेखि घरबार त्यागेर धार्मिक जीवन बिताउँदै आउनुभएकी लामाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा उहाँले छोरा सुदनसँगको सम्बन्ध, आफ्नो जीवनशैली र आर्थिक अवस्थाबारे कुराकानी गर्नुभएको छ ।
भिडियो सार्वजनिक भएपछि लामाले अर्को भिडियोमार्फत आफ्नो अनुमति नलिई कुराकानी रेकर्ड गरिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले अन्तर्वार्ता दिन अनुमति नदिएको र सामान्य कुराकानीलाई भिडियो बनाएर भाइरल गरिएको दाबी गर्नुभएको थियो ।
उहाँले कसैको व्यक्तिगत जीवनसँग सम्बन्धित सामग्री अनुमतिबिना सार्वजनिक नगर्न आग्रह गर्दै यसबाट मानसिक तनाव हुने बताउनुभएको थियो ।
पक्राउ परेका बोगटी कलाकार तथा डिजिटल सामग्री निर्माता पनि हुनुहुन्छ । उहाँ नेपाली लोक तथा देउडा गीतका गायक र संगीतकारका रूपमा समेत परिचित हुनुहुन्छ ।
प्रहरीले वैयक्तिक गोपनीयता हननसम्बन्धी आरोपमा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्