जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २०:४४

उचित समय र परिस्थिति बनेपछि एमाले सडक आन्दोलनमा जान्छ : उपमहासचिव भट्टराई


काठमाडौं, मंसिर ३ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले उचित मुद्दा, समय र परिस्थिति निर्माण भएपछि पार्टी सडक आन्दोलनमा जाने बताउनुभएको छ ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा सडक जनताका आवाज र असन्तुष्टि अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । सडक आन्दोलनलाई विध्वंसका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै उहाँले आवश्यक परे एमालेले पनि शान्तिपूर्ण र संयमित ढङ्गले सडकमा आफ्नो आवाज उठाउने स्पष्ट पार्नुभयो ।

सरकारका लोकतन्त्रविरोधी गतिविधिविरुद्ध जनताको आवाज शान्तिपूर्ण रूपमा उठाउन पार्टी तयार रहेको उहाँको भनाइ छ ।

उपमहासचिव भट्टराईले एमालेको विचार, संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमा एकीकृत रूपान्तरण आवश्यक रहेको पनि बताउनुभयो । पार्टी जीवित रहेसम्म पुनर्गठनको मुद्दा निरन्तर अघि बढिरहने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको संगठनात्मक सुदृढीकरणसँगै आगामी स्थानीय तह र प्रदेश निर्वाचनको तयारी पनि समानान्तर रूपमा अघि बढाइने जानकारी दिनुभयो ।