काठमाडौं, मंसिर ३ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार प्रधानमन्त्रीले नभई उहाँको सचिवालय र बिचौलियाहरूले सञ्चालन गरिरहेको आरोप लगाउनुभएको छ ।
बिहीबार एमालेको राष्ट्रिय कार्यकर्ता भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महरले संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिन्ने व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका बिचौलियामाथिको अनुसन्धानमा समेत हस्तक्षेप गरेको उहाँको दाबी छ । उहाँले राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम भइरहेको आरोपसमेत लगाउनुभयो ।
मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि प्रश्न उठाउँदै महरले सरकारले जनतालाई दिएका आश्वासनसमेत पूरा गर्न नसकेको बताउनुभयो ।
राष्ट्रिय भेलाबाट फर्किएपछि सरकारका गतिविधिबारे जनतालाई जानकारी गराउने उहाँले बताउनुभयो । भेलाले पार्टीभित्र राजनीतिक बुझाइमा एकरूपता कायम गर्न सहयोग गरेको उल्लेख गर्दै उहाँले निराशा चिर्दै आगामी निर्वाचनमा केन्द्रित हुने बताउनुभयो ।
महरले आगामी स्थानीय तह निर्वाचनमा एमालेले उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाटै अघि बढाउने जानकारी दिनुभयो । पालिकाको उम्मेदवार पालिका तहबाट र वडाको उम्मेदवार वडा तहबाटै छनोट गर्ने योजना रहेको उहाँको भनाइ छ ।
स्थानीय जनताको चाहना र कार्यकर्ताको सुझावका आधारमा उम्मेदवार तथा स्थानीय एजेन्डा तय गरिने उहाँले बताउनुभयो । आगामी स्थानीय तह निर्वाचनमा एमाले पुनः पहिलो राजनीतिक शक्ति बन्ने दाबीसमेत उहाँले गर्नुभयो ।
संघीयतालाई मजबुत बनाउन एमालेले आगामी निर्वाचनमा सफलता हासिल गर्नुपर्ने उल्लेख गर्दै महरले विगतमा पार्टीले गरेका विकास निर्माण र सेवा प्रवाहका काम आफ्नो जितको आधार बन्ने दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्