जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २१:१०

दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, मंसिर ३ । वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सहसचिव राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थप भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा श्रमिकसँग रकम असुली गरी ठूलो रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

प्रकरणमा ८३ लाख ७० हजार ४ सय ३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९ सय ८० पाउण्ड स्टर्लिङ गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको आरोप छ ।

प्रहरीले घटनामा उनीहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।