जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २०:५८

पाँच पटक प्रधानमन्त्री भएँ, अब जीवनभर देश र जनताका लागि समर्पित हुन्छु : देउवा


काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेको भन्दै अब बाँकी जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने बताउनुभएको छ ।

कांग्रेसको इतर पक्षले आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूले जनताबाट पर्याप्त अवसर पाइसकेको र अब केही पाउन बाँकी नरहेको बताउनुभयो ।

डडेलधुराको साधारण परिवारमा जन्मिएको व्यक्ति पाँच पटक प्रधानमन्त्री बन्नु जनताकै विश्वास र मायाको परिणाम भएको उल्लेख गर्दै उहाँले जीवन रहेसम्म नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा बागलुङबाट कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन पनि आग्रह गर्नुभयो ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गर्दै देउवाले पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा आफूले भोगेको जेलजीवन स्मरण गर्नुभयो ।

त्यतिबेला पनि सर्वोच्च अदालतले न्याय दिएको उल्लेख गर्दै उहाँले अहिले पनि अदालतबाट पूर्ण न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।