जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:३९

गृहमन्त्री सुदन गुरुङकाे चेतवानी : दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ


काठमाडौं, मंसिर ५ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको पक्षमा लाग्ने तथा नेताहरूको चाकडी गर्ने प्रवृत्ति त्याग्न चेतावनी दिनुभएको छ। उहाँले कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु भएको स्पष्ट पार्दै पदीय जिम्मेवारी बिर्सेर राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले सरकारमा आएदेखि नै राष्ट्रसेवक कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्नुभएको छ। उहाँले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताहरूको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताउनुभएको छ। ‘राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो,’ उहाँले भन्नुभएको छ।

नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गर्दै उहाँले कर्मचारीलाई आफ्नो पदीय मर्यादा र जिम्मेवारीप्रति इमानदार रहन आग्रह गर्नुभएको छ। पटकपटक स्पष्ट पार्दा पनि राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्यस्तो सोच तत्काल त्याग्न उहाँले चेतावनी दिनुभएको छ। ‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,’ गृहमन्त्री गुरुङले लेख्नुभएको छ।

उहाँले आफ्नो पदीय जिम्मेवारी बिर्सिएर जनताको कामभन्दा नेताहरूको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएकाे छ । ‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उहाँको चेतावनी छ।

गृहमन्त्री गुरुङले सरकारलाई राजनीतिक दल वा नेताको स्वार्थ पूरा गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने र देशप्रति समर्पित राष्ट्रसेवक आवश्यक रहेको पनि बताउनुभएको छ। ‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ उहाँले उल्लेख गर्नुभएको छ।