जनता टाइम्स

५ मंसिर २०८३, शनिबार १५:५५

दोलखामा थामी संघको राष्ट्रिय अधिवेशन, मंसिर १९ मा केपी ओलीले उद्घाटन गर्ने


काठमाडौं, ५ मंसिर । नेपाल लोकतान्त्रिकथामी संघको प्रथम राष्ट्रिय अधिवेशन थामी समूदायको उद्गम जिल्ला दोलखामा हुने भएको छ ।

एमाले सम्बद्ध जनसंगठन नेपाल आदिवासी जनजाती महासंघको सकृय एक घटक संगठनका रुपमा स्थापित संघको अधिवेशन उद्घाटन आगामी १९ मंसिरमा अध्यक्ष केपी शर्मा ओलीले सदरमुकाम चरिकोटमा गर्ने कार्यक्रम तय भएको हो ।

राष्ट्रिय अधिवेशनलाई एमाले दोलखाले केन्द्रीय अध्यक्षकै प्रमुख आतिथ्यतामा मिसन राष्ट्रिय जागरणका रुपमा पार्टीको राष्ट्रिय भेलाको सन्देश सम्प्रेषण गर्ने महत्वपूर्ण कार्यक्रमका रुपमा रुपान्तरित गर्नेगरी तयारीको काम अघि बढाएको छ ।

एमाले दोलखाका ईन्चार्ज तथा पूर्वमन्त्री पार्वत गुरुङको अगुवाई र एमाले जिल्ला कमिटी दोलखा तथा दोलखा–सम्पर्क कमिटीको संयोजनमा शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अगुवा नेता–कार्यकर्ताको प्रारम्भिक तयारी भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै इन्चार्ज गुरुङले अल्पसंख्यक समूदाय थामीहरुलाई मूल प्रवाहीकरण गर्नेलगायतका कामको अगुवाई एमालेले नै गर्दै आएकाले उद्गमथलो दोलखामा आयोजित प्रथम राष्ट्रिय अधिवेशनलाई पार्टीले राष्ट्रिय भेलाको सन्देश सम्प्रेषण गर्ने कार्यक्रमकै रुपमा अगाडि बढाउन चाहेको बताउनु भयाे।

पार्टीलाई पुर्नजागृत गर्दै निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य पूरा गर्न पनि भेलालाई भव्य बनाउनेगरी तयारी गर्नुपर्ने आवश्यकता गुरुङले औंल्याउनु भयाे। त्यस्तै, उनले काठमाडौंमा रहेका पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई जिल्लामा आयोजित कार्यक्रममा सकृयतापूर्वक सहभागी हुन आह्वान पनि गर्नुभयाे ।

त्यस्तै, केन्द्रीय सदस्य विनोद पाण्डे, श्याम बस्नेत तथा वागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीले राष्ट्रिय भेलाको सन्देशसहित केन्द्रदेखि तल्लोपंक्तिसम्मका कार्यकर्ता पंक्ति मुख्य लक्ष्य प्राप्तिका लागि एउटै लय र शैलीका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयाे ।

नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले पार्टीले संचालन गरिरहेको मिसन राष्ट्रिय जागरणकै रुपमा अधिवेशनलाई सम्पन्न गर्नेगरी तयारी गर्न एमाले दोलखालाई आग्रह गर्दै त्यसका लागि महासंघले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुुभयाे ।

भेलामा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य रचना खड्का र डबल पाण्डे, नेतृहरु सरस्वती बस्नेत र उर्मिला सुनुवार, केन्द्रीय लेखा आयोगका सदस्यहरु शान्ती पाख्रिन र डिल्ली बराईंली, वागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोज मोहन लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, दोलखा सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्कासहित, पार्टी र जनवर्गीय संगठनका विभिन्न तहमा रहेका नेता–कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

भेलाले स्थानीय तह र जनप्रतिनिधिहरुको संयोजनसहित तयारीको जिम्मेवारी प्रदेश मन्त्री केसी, विभिन्न समूदायको झाँकी प्रर्दशन तयारीको जिम्मेवारी जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, थामी समूदायको सांस्कृतिक झाँकीसहितको तयारीका लागि प्रदेश सांसद ठूला थामी र विगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी, काठमाडौंको तयारी संयोजनको समग्र जिम्मेवारी वागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोजमोहन लामा र दोलखा सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का, जनजाती समूदायहरुको समग्र परिचालनको जिम्मेवारी जंग गुरुङ र थिरबहादुर मोक्तान, सुरक्षा व्यबस्थापन तथा जनवर्गीय संगठन संयोजन र परिचालनको जिम्मेवारी नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, सांगितिक कार्यक्रमको संयोजन अमृत खातीलगायतलाई दिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका सुष्पाक्षमावतीस्ति राङथलीलाई अल्पसंख्यक थामी समूदायको उद्गमथलो मानिन्छ । देशभर ३२ हजार ७ सय ४३ जनसंख्या रहेकोमा दोलखामा मात्र किरातहरुभित्र पर्ने थामीहरुको जनसंख्या १८ हजार १ सय ४१ रहेको छ ।

दोलखाको कूल जनसंख्याको १० प्रतिशत थामी समूदायले ओगटेको छ । सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भापासहित अन्य केही जिल्लामा पनि थामीहरुको बसोबास रहेको छ ।