काठमाडौं, मङ्सिर ६ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेपाल र भारतबीच तयार पारिएको संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै उहाँले एउटा सार्वभौम र स्वतन्त्र देशले अर्को देशसँग मिलेर संयुक्त भिजन पेपर बनाउनु अनौठो भएको बताउनुभयो ।
‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’ उहाँले प्रश्न गर्नुभयो ।
नेता रावलले संयुक्त भिजन पेपरबाट नेपालको राष्ट्रिय हितमा सकारात्मक परिणाम आउनेमा आशंका व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाह भारत भ्रमणबाट के उपलब्धि हासिल गरेर फर्कनुहुन्छ भन्ने कुरा हेर्नुपर्ने उहाँको भनाइ थियो ।
सरकारले गरिरहेका काम आम नागरिकले अनुभूति गर्न नसकेको आरोप लगाउँदै उहाँले नयाँ सरकारले जनताले नबुझ्ने गरी अंग्रेजी शब्दको प्रयोग गरेर आफूलाई ठूलो देखाउन खोजेको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालको संविधानले देवनागरी लिपिमा नेपाली भाषालाई सरकारी कामकाजको भाषा माने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
नेता रावलले भारत भ्रमणबाट प्रधानमन्त्रीले के उपलब्धि हासिल गर्नुहुन्छ भन्ने अहिले नै भन्न नसकिने उल्लेख गर्दै त्यसको परिणाम पर्खनुपर्ने बताउनुभयो ।
देशको अर्थतन्त्र, राजनीति, संस्कृति र समृद्धिका विषयमा राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिँदै उहाँले रोजगारीको अभावमा हजारौँ युवा विदेश गइरहेको अवस्थाबारे सरकारले स्पष्ट नीति र कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
यसैगरी, उहाँले गेटा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।













प्रतिक्रिया दिनुहोस्