जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०७:३०

प्रधानमन्त्री बालेन र मोदीबीच आज भेटवार्ता, विभिन्न परियोजनामा सहमति हुने अपेक्षा


काठमाडौं, मंसिर ८ । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता हुने कार्यक्रम छ । त्यसपछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय वार्तामा नेपाल–भारत सम्बन्ध, पूर्वाधार विकास, कनेक्टिभिटी तथा व्यापारिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणका विषय वार्ताको प्राथमिकतामा रहनेछन् ।

वार्तापछि प्रधानमन्त्री शाह र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नुहुने कार्यक्रम छ । त्यस क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ । त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने तयारी छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आजै दिवाभोज आयोजना गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै स्वदेश फर्कनुहुनेछ । उहाँ अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको थियो । भ्रमणको पहिलो दिन उहाँले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । जयशंकरले नयाँदिल्लीस्थित होटल ताजमा प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो ।